आइजीपी प्रकरणमा रवि भन्छन् : सरकारले औचित्य पुष्टि गर्ला

१९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षकबाट दानबहादुर कार्कीलाई हटाएर मनोजकुमार केसीलाई नियुक्त गर्ने सरकारको निर्णयमा सरकारको नेतृत्व गर्ने रास्वपा सभापति रवि लामिछानेले प्रतिक्रिया दिएका छन् । निर्वाचन क्षेत्र चितवनमा रहेका लामिछानेले प्रहरी महानिरीक्षकका सम्बन्धमा सरकारले औचित्य पुष्टि गर्नुपर्ने बताए । उनले भने, सरकारले गरेका कुराहरूमा थप स्पष्टता चाहियो, प्रश्न भयो भने त्यसमा पार्टीले चेक एन्ड ब्यालेन्स गर्ने, त्यसलाई सोध्ने, त्यसको अझ बढी स्पष्ट पार्ने गर्नैपर्छ । सरकारले गरेका सबै निर्णयमा हो मा हो मिलाउँदैन पार्टीले र पार्टीले गरेका हरेक कामलाई पनि सरकारले हो मा हो मिलाउँदैन ।

महानिरीक्षक परिवर्तन गर्न भनेर पार्टीले सरकारलाई निर्देशन नदिएको भन्दै सभापति लामिछानेले सरकारले आफ्नो निर्णयको औचित्य पुष्टि गर्नुपर्ने बताएका हुन् । प्रहरी महानिरीक्षकका सम्बन्धमा सरकारको निर्णयबारे लामिछानेले भने, सरकारले काम गर्दा, कदम चाल्दा औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ । त्यो औचित्य सरकारले पुष्टि गर्ला । सुरक्षा निकायसँग सम्बन्धित रहेको जिम्मेवारी हेरफेर असाध्यै संवेदनशील विषय समावेश भएको कारणले सरकारले कुनै निश्चित समयमा यसको औचित्य पुष्टि अवश्य गर्ला ।’ सभापति लामिछानेले सरकारका निर्णयबारे पार्टीले आवश्यक पर्दा निर्देशन दिइरहेको पनि बताए । महानिरीक्षकको सम्बन्धमा सरकारको निर्णयबारे पार्टीका प्रवक्ता जगदीश खरेलले प्रतिक्रिया दिइसकेको पनि लामिछानेले बताए ।