इरानभित्र ‘दोस्रो एयरम्यान’लाई उद्धार गरिएको ट्रम्पको दाबी

(260405) -- BEIRUT, April 5, 2026 (Xinhua) -- This photo taken on April 4, 2026 shows damaged buildings after Israeli airstrikes in Mashgharah, Lebanon. Israeli airstrikes and drone attacks across southern Lebanon killed at least 14 people and wounded more than 25 others, the National News Agency reported, as Israeli warplanes carried out heavy airstrikes on Beirut's southern suburbs on Saturday at dawn and in the morning. (Photo by Maher Kamar/Xinhua)

तेहरान, २३ चैत (रासस\एएफपी) । मध्यपूर्वमा चर्किंदो युद्धका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानभित्र खसालिएको दोस्रो अमेरिकी एयरम्यानलाई सफलतापूर्वक उद्धार गरिएको दाबी गरेका छन् । उनले उक्त अपरेसनलाई अमेरिकी सैन्य इतिहासकै ‘सबैभन्दा साहसी खोजी तथा उद्धार अभियानमध्ये एक’ भन्दै उल्लेख गरे ।

ट्रम्पका अनुसार एयरम्यान शत्रु नियन्त्रणमा रहेको कठिन पहाडी क्षेत्रमा फसेका थिए र उनीमाथि खोजी अभियान चलिरहेको अवस्थामा अमेरिकी सेनाले उच्च जोखिम मोलेर उद्धार गरेको हो । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत एयरम्यान घाइते भए पनि सुरक्षित अवस्थामा रहेको जानकारी दिए । यसअघि अर्को एक पाइलटलाई पनि उद्धार गरिएको तर दोस्रो अभियान प्रभावित नहोस् भनेर सार्वजनिक नगरेको उनले स्पष्ट पारे ।


यस घटनासँगै क्षेत्रीय तनाव थप चर्किएको छ । ट्रम्पले इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न वा ‘गम्भीर परिणाम’ भोग्न चेतावनी दिएको भोलिपल्टै उद्धारको घोषणा आएको हो । सोही क्रममा इरानले बहराइन, इजरायल, कुवेत र अबु धाबीमा मिसाइल तथा ड्रोन आक्रमण गरेको बताइएको छ । इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी उद्धार प्रयाससँग सम्बन्धित आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । इरानले आफ्नो सेनाले विमान खसालेको दाबी गरे पनि अमेरिकी प्रशासनले त्यसबारे औपचारिक पुष्टि गरेको छैन ।

फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायलको आक्रमणपछि फैलिएको युद्धले अहिले मध्यपूर्वका धेरै देश समेट्दै विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको छ । इरानले रणनीतिक रूपमा महत्त्त्वपूर्ण स्ट्रेट अफ होर्मुजमा अवरोध सिर्जना गर्दै इजरायल र खाडी क्षेत्रका देशहरूमाथि आक्रमण जारी राखेको छ ।उता, इरानभित्र पनि अमेरिका–इजरायलका हमलाहरूले औद्योगिक तथा ऊर्जा संरचनामा ठूलो क्षति पु¥याएका छन् । खुजेस्तान प्रान्तको पेट्रोकेमिकल केन्द्रमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

राजनीतिक रूपमा पनि दुवै पक्षबीच कडा शब्दयुद्ध जारी छ । ट्रम्पले ‘समय सकिँदै गएको’ चेतावनी दिँदै इरानमाथि दबाब बढाएका छन् भने इरानी सैन्य नेतृत्वले त्यसलाई अस्वीकार गर्दै उल्टै कडा प्रतिक्रिया जनाएको छ । जनरल अली अब्दुल्लाह अलीआबादीले अमेरिकी चेतावनीलाई असन्तुलित र अविवेकी कदम भन्दै ‘नरकका ढोका खुल्ने’ चेतावनी दिए ।


यसैबीच, पाकिस्तानले युद्ध अन्त्यका लागि मध्यस्थता प्रस्ताव गरेको छ र कूटनीतिक पहल सुरु भएको सङ्केत देखिएको छ । तर मैदानमा हिंसा घट्ने कुनै स्पष्ट सङ्केत देखिएको छैन । बहराइनमा ऊर्जा भण्डारण ट्याङ्कीमा ड्रोन आक्रमणबाट आगलागी भएको छ भने अबु धाबीको पेट्रोकेमिकल संरचनामा पनि क्षति पुगेको छ । लेबनानमा इरान समर्थित हिजबुल्लाहले इजरायली युद्धपोतलाई लक्षित गरी क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ, यद्यपि इजरायलले त्यसको पुष्टि गरेको छैन । दक्षिणी लेबनानका बासिन्दाहरू निरन्तर बमबारीबीच भयभीत अवस्थामा जीवन बिताइरहेका छन् । स्थानीयवासीहरूले रातभर गोलाबारी नरोकिने र सुत्न नसकिएको बताएका छन् ।

इरानको बुशहर आणविक संयन्त्र नजिकै भएको आक्रमणले थप चिन्ता बढाएको छ । उक्त घटनामा एक सुरक्षाकर्मीको मृत्यु भएको छ भने रुसले त्यहाँ कार्यरत आफ्ना १९८ कामदारहरू फिर्ता बोलाउने निर्णय गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले निरन्तर आक्रमण जारी रहे रेडियोधर्मी जोखिम फैलिन सक्ने चेतावनी दिनुभएको छ, जसको असर खाडी क्षेत्रका देशहरूमा समेत पर्न सक्ने बताइएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले विकिरण स्तर नबढेको जनाएको भए पनि पछिल्ला आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । पूर्व प्रमुख मोहम्मद एल–बरादेईले खाडी राष्ट्रहरूलाई क्षेत्रलाई थप विनाशबाट जोगाउन सक्रिय भूमिका खेल्न आह्वान गरे ।


युद्धकै पृष्ठभूमिमा इरानभित्र आन्तरिक दमन पनि तीव्र भएको छ । सरकारले विरोध प्रदर्शन दबाउँदै दुई जनालाई मृत्युदण्ड दिने घोषणा गरेको छ भने इन्टरनेट सेवा अवरुद्ध गरिँदा यो देशको इतिहासकै सबैभन्दा लामो ब्ल्याकआउट बनेको बताइएको छ । समग्रमा, सैन्य कारबाही, कूटनीतिक चेतावनी र मानवीय सङ्कट एकसाथ गहिरिँदै जाँदा मध्यपूर्वको अवस्था झन् जटिल र अस्थिर बन्दै गएको देखिएको छ ।