२९ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिना (साउनदेखि चैत) सम्म रेमिट्यान्स १६ खर्ब ५९ अर्ब भित्रिएको छ। चैत महिनामा मात्र २ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको छ । जुन कीर्तिमान हो । कुनै एक महिनामा सबैभन्दा बढी रेमिट्यान्स यस महिनामा भित्रिएको हो । गत आर्थिक वर्ष २०८१–८२ यही अवधिमा भने ११ खर्ब ९२ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको तुलनामा रेमिट्यान्स ३९.१४ प्रतिशतले बढेको हो। फागुनमा एक खर्ब ८८ अर्ब रूपैयाँ भित्रिएको थियो।
साढे दुई वर्षदेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ। नौ महिनामा नौ अर्ब ५२ करोड रूपैयाँ रेमिट्यान्स बाहिरीएको छ। गत वर्षको यही अवधिमा ७ अर्ब ६८ करोड रूपैयाँ बाहिरिएको थियो। यो नौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या पनि ३.३६ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षको यही अवधिका ६ लाख ७ हजार जनाले नयाँ र पुन श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या पाँच लाख ८७ हजार छन्। इरान र इसाराइलमा जारी द्वन्द्वको कारण वैदेशिक रोजगारी प्रभावित भएकोले जानेको संख्या घटेको हो। चैतको करिब दोस्रो साता केही दिन नेपालबाट मध्य पूर्वमा हुने हवाइ उडान नै रोकिएको थियो।