१७ असोज, न्यूयोर्क । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरु २८औं दिनमा पनि निरन्तर जारी रहेको बताइएको छ ।
एनआरएनएका अनुसार, भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको तुप्चे र देवीघाटका ८० परिवारलाई खाद्यान्न, ग्यास, भाँडाकुँडा तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ । एनसीसी फिलिपिन्स र स्टिचिङ नेपाल फण्ड, नेदरल्यान्ड्सको सौजन्यमा बाढीपहिरो प्रभावित परिवारका लागि राहत सामग्री उपलब्ध गराइएको हो ।
प्रभावित परिवारको आवश्यकताका आधारमा ग्यास सिलिण्डर, भाँडाकुँडा, खाद्यान्न लगायतका सामग्री वितरणसमेत गरिएको छ । राहत कार्यक्रमअन्तर्गत प्रभावितहरुलाई ग्याँस सिलिन्डर, प्रेसर कुकर, चुल्हो, पाइप, रेगुलेटर, क्लीप, कराई, थाल, डाडु, पन्यू, गिलास, कचौरा, चम्चा, जग र बाल्टिन लगायतका घरायसी तथा भान्साका अत्यावश्यक सामग्रीहरु उपलब्ध गराइएको जनाएको छ ।
सामग्री वितरणमा संघका केन्द्रीय उपाध्यक्ष बुद्धिसागर सुवेदी, उपाध्यक्ष तथा विपद् व्यवस्थापन समिति संयोजक मनोज श्रेष्ठ, एनसीसी नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष शशी पौडेल, मध्यपूर्वका पूर्व उपसंयोजक धर्मराज गिरी र एनसीसी फिलिपिन्सका कोषाध्यक्ष प्रेम लामा लगायतको सहभागिता रहेको थियो ।
काजक्रिया सकेका २२ परिवार राहत वितरण
भोटेकोशी नदीको बाढीबाट आफन्त गुमाई काठमाडौंका विभिन्न क्रियाघरमा काजक्रिया सम्पन्न गरी हाल कोठा भाडामा लिएर बसिरहेका प्रभावित परिवारलाई सहयोगस्वरुप ग्यास सिलिन्डर, भाँडाकुँडा, खाद्यान्न लगायतका राहत सामग्री वितरण गरिएको छ । एनआरएनए सचिवालयबाट उतरगया तथा विदुरका गरी २२ प्रभावित परिवारलाई उक्त राहत सामग्री उपलब्ध गराइएको हो । बाढीबाट घर तथा आफन्त गुमाएका उनीहरु हाल काठमाडौं, नुवाकोट लगायतका स्थानमा कोठा भाडामा लिएर नयाँ बसोवासको तयारीमा रहेका छन् ।
६ करोड रुपैयाँ बढी संकलन
यसैगरी, भोटेकोशी बाढी प्रभावितका लागि पूर्व प्रतिबद्धताअनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको छ । भोटेकोशी–रसुवा बाढी २०२६ को वित्तीय प्रतिवेदनअनुसार यस अभियानका लागि कुल ९ करोड १९ लाख ४५ हजार २ सय ७२ रुपैयाँ प्रतिबद्धता प्राप्त भएकोमा हाल ६ करोड २ लाख ३१ हजार रुपैयाँ सहयोग संकलन भएको छ ।
