कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

In this photo released by the Pakistan Foreign Ministry, Iran's Parliament Speaker Mohammad Bagher Qalibaf, center right, and Iran's Foreign Minister Abbas Araghchi, center left, are greeted by Pakistan Foreign Minister Ishaq Dar, right, and Army Chief Field Marshal Gen. Asim Munir, left, upon their arrival at Nur Khan airbase in Rawalpindi, Pakistan, Saturday, April 11, 2026. (Pakistan Ministry of Foreign Affairs via AP)

टोकियो, २९ चैत (रासस–एएनआई) । अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी दूतावासले सैन्य आक्रमणबाट हासिल गर्न नसकिएका उद्देश्यहरू कूटनीतिका माध्यमबाट थोपर्न नसकिने स्पष्ट पारेको छ । इस्लामाबादमा भएको हालैको वार्तापछि सार्वजनिक धारणा तीव्र भइरहेका बेला इरानले आफ्नो अडान पुनः दोहोर्‍याएको हो ।

दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अघि सारेको ‘अन्तिम र उत्कृष्ट प्रस्ताव’ लाई एकपक्षीय रूपमा प्रस्तुत गरिएको भन्दै अस्वीकार्य ठहर गरेको छ । उक्त प्रस्ताव स्वभावतः पारस्परिक हुनुपर्ने भन्दै इरानले यसलाई कुनै एक पक्षले दबाब सिर्जना गर्ने औजारका रूपमा प्रयोग गर्न नसकिने जनाएको छ ।

वक्तव्यमा इरानले भान्सको ‘इरानले हाम्रो सर्त स्वीकार नगर्ने छनोट गरेको छ’ भन्ने अभिव्यक्तिलाई पनि जबरजस्ती तर्कको संज्ञा दिएको छ । दूतावासका अनुसार यस्तो धारणा अर्को पक्षलाई युद्धमैदानमा असफल भएका मागहरू स्वीकार गर्न बाध्य पार्ने प्रयास हो, जुन कूटनीतिक सिद्धान्तविपरीत छ । साथै, पछिल्लो द्वन्द्वको सुरुआत इरानबाट नभई अन्य पक्षबाट भएको दाबीसमेत गरिएको छ ।

इरानले भान्सका अभिव्यक्तिहरूले अन्तर्राष्ट्रिय समुदायमा थप गम्भीर र आलोचनात्मक बहस आवश्यक बनाएको उल्लेख गरेको छ । ‘इरानका लागि नराम्रो खबर’ भन्ने टिप्पणीलाई लक्षित गर्दै दूतावासले त्यसको यथार्थ मूल्याङ्कन हुनुपर्ने बताएको छ । साथै, वार्ता आयोजना र सहजीकरणमा भूमिका खेलेको पाकिस्तानप्रति इरानले कृतज्ञता व्यक्त गरेको छ ।

यसैबीच, क्षेत्रीय तनाव अझ चर्काउने सङ्केत देखिएका छन् । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले आफ्ना दुई युद्धपोत युएसएस फ्रान्क ई. पिटरसन (डिडिजी १२१) र युएसएस माइकल मर्फी (डिडिजी ११२) ले होर्मुज जलडमरूमध्य पार गर्दै खानी सफा गर्ने तयारी थालेको जनाएको छ । उक्त कदमलाई उसले जलमार्ग सुरक्षित बनाउने व्यापक अभियानको हिस्सा बताएको छ ।

तर इरानले अमेरिकी दाबीलाई तत्काल अस्वीकार गरेको छ । इरानी सेनाको खताम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले कुनै पनि अमेरिकी जहाज उक्त क्षेत्रमा प्रवेश गरेको दाबी असत्य रहेको बताएका छन् । उनका अनुसार होर्मुज जलडमरूमध्यमा जहाजहरूको आवागमन पूर्ण रूपमा इरानका सशस्त्र बलको नियन्त्रणमा रहेको छ । दुवै पक्षबीच बढ्दो आरोप–प्रत्यारोपले कूटनीतिक समाधानको सम्भावनालाई थप जटिल बनाइरहेको विश्लेषण गरिएको छ, जहाँ वार्ताभन्दा बढी शक्ति प्रदर्शनले प्राथमिकता पाएको सङ्केत देखिन्छ ।