जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द

(FILES) Jellyfish lay on the shore near the Gravelines nuclear power plant in Gravelines, northern France on August 12, 2025. A massive influx of jellyfish into the seawater pumping stations at the Gravelines nuclear power plant (Nord) forced EDF on August 10, 2026 to shut down three of its reactors, the group announced on its website on August 11, 2026. (Photo by Sameer AL-DOUMY / AFP)

लिले, २७ साउन (रासस–एएफपी) । उत्तरी फ्रान्सस्थित एक आणविक ऊर्जा केन्द्रमा जेलीफिसको झुण्ड प्रवेश गरेपछि तीनवटा रिएक्टर बन्द गरिएको छ । ऊर्जा कम्पनी ईडीएफका अनुसार रिएक्टर चिस्याउन प्रयोग हुने पानी तान्ने पम्पमा जेलीफिसको झुण्ड अड्किएपछि सोमबार ती रिएक्टर बन्द गरिएको हो । ईडीएफका अनुसार प्लान्टका तीन रिएक्टर बन्द गरिनुका साथै चौथो रिएक्टरको उत्पादन क्षमता आधा घटाइएको छ । अर्को एक रिएक्टर भने नियमित मर्मतसम्भारका लागि यसअघि नै बन्द गरिएको थियो । हाल एउटा रिएक्टर मात्र पूर्ण क्षमतामा सञ्चालनमा छ ।

ईडीएफले उक्त घटनाबाट प्लान्टको सुरक्षा, कर्मचारी तथा वातावरणमा कुनै असर नपरेको जनाएको छ । डन्कर्क सहरनजिकै रहेको ग्राभलिन्स आणविक ऊर्जा केन्द्रमा ९०० मेगावाट क्षमताका छवटा रिएक्टर छन् । यो पश्चिमी युरोपकै ठूलो आणविक ऊर्जा केन्द्रमध्ये एक हो । यसअघि पनि जेलीफिसको झुण्डका कारण उक्त केन्द्रमा समुद्री पानी तान्ने पम्प बन्द भएपछि रिएक्टरको सञ्चालन अस्थायी रूपमा रोकिएको थियो ।


फ्रान्सले यस वर्ष अत्यधिक गर्मी र खडेरीका कारण आणविक ऊर्जा उत्पादनमा समस्या झेल्दै आएको छ । अत्यधिक तापक्रमका कारण जुन र जुलाईमा ईडीएफले केही आणविक रिएक्टर बन्द गरेको थियो । ईडीएफका तथ्याङ्कमा आधारित एएफपीको गणनाअनुसार, पछिल्लो घटनाअघि आइतबार फ्रान्सको आणविक ऊर्जा उत्पादन १५ दशमलव छ प्रतिशतले घटेको थियो ।

जेलीफिसको झुण्डका कारण यसअघि स्वीडेन र जापानका आणविक ऊर्जा केन्द्रमा रिएक्टर बन्द गर्नुपरेको थियो । सन् २०१३ मा स्वीडेनको एक आणविक ऊर्जा केन्द्र तीन दिनसम्म बन्द भएको थियो भने सन् १९९९ मा जापानमा यस्तै घटनाका कारण विद्युत् उत्पादनमा उल्लेख्य कमी आएको थियो । विज्ञहरूका अनुसार अत्यधिक माछा मार्ने, प्लास्टिक प्रदूषण र जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम बढ्दा जेलीफिसको वृद्धि र प्रजननका लागि अनुकूल वातावरण सिर्जना भइरहेको छ ।