ट्रम्प भन्छन् : इरानसँगको वार्ता प्रगति उन्मुख

(Photo by ANDREW CABALLERO-REYNOLDS / AFP)

२३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज क्षेत्र पुनः सञ्चालन गर्न सुरु गरिएको अमेरिकी अभियान अस्थायी रूपमा रोकिएको घोषणा गरेका छन्। पाकिस्तानसहित अन्य देशहरूको ‘अनुरोध’ तथा इरानका प्रतिनिधिहरूसँग ‘पूर्ण र अन्तिम सम्झौतामा उल्लेखनीय प्रगति भएको’ भन्दै उनले मंगलबार राति ट्रुथ सोसियल प्लेटफर्ममार्फत यस्तो घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘नाकाबन्दी पूर्ण रूपमा यथावत् रहने भए पनि प्रोजेक्ट फ्रिडमलाई केही समयका लागि स्थगित गर्ने आपसी सहमति भएको छ, ताकि सम्झौता अन्तिम रूपमा टुंग्याएर हस्ताक्षर गर्न सकियोस्।’

खाडी क्षेत्रमा तनाव बढिरहेका बेला ट्रम्पको घोषणा आएको हो। यस विषयमा इरानले भने कुनै प्रतिक्रिया जनाएको छैन। यसअघि ट्रम्पले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी सैन्य र आर्थिक दबाबका कारण इरान वार्तामा आउन बाध्य भएको बताएका थिए। ‘इरान सम्झौता गर्न चाहन्छ। तर मलाई मन नपर्ने कुरा के हो भने उनीहरू मसँग सम्मानका साथ कुरा गर्छन्,’ उनको भनाइ छ, ‘अनि टेलिभिजनमा गएर ‘हामीले राष्ट्रपतिसँग कुरा गरेका छैनौँ, भन्छन्। उनीहरू खेल खेलिरहेका छन्। तर म भन्छु, ‘उनीहरू सम्झौता गर्न चाहन्छन्। आखिर कसले चाहँदैन ? जब तपाईंको सैन्य शक्ति पूर्ण रूपमा कमजोर हुन्छ।’


यसैबीच, अमेरिकी सेनाले केही इरानी डुङ्गा, क्रुज मिसाइल र ड्रोन नष्ट गरेको जनाएको छ। संयुक्त अरब इमिरेट्सले पनि दोस्रो दिन इरानबाट आएका मिसाइल र ड्रोन आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको बताएको छ। त्यस्तै, हर्मुज मार्गमा अर्को एक व्यावसायिक जहाज ‘अज्ञात प्रोजेक्टाइल’बाट प्रहार भएको रिपोर्ट गरिएको छ। इरानले भने हर्मुज पार गर्न चाहने जहाजका लागि नयाँ प्रणाली लागू गरेको जनाएको छ। यसअनुसार जहाजहरूले पर्सियन गल्फका अधिकारीहरूसँग इमेल ठेगानामार्फत पछिल्ला आवागमन नियमहरूको जानकारी प्राप्त गर्नेछन्।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी)ले पनि इरानी नियन्त्रण क्षेत्र विस्तार गरिएको नयाँ नक्सा सार्वजनिक गर्दै तोकिएको मार्गमै चल्न चेतावनी दिएको छ, अन्यथा ‘निर्णायक प्रतिक्रिया’ दिइने बताएको छ।