भक्तपुर, ५ कात्तिक : मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा आज सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकू दरबारस्थित तलेजू मन्दिरमा जमरा राखी सुरु भएको थियो ।
कुभिण्डो जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजू स्थित दसैँघरमा भित्रयाएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ । नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको पमा नाईके श्यामकाजी पमा श्रेष्ठले बताउनुभयो ।
एकादशीका दिन आज तीनजना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहितको संलग्नतामा जात्रा मनाईएको उहाँले बताउनुभयो । बाजागाजासहित लायकूबाट ल्याइएको कुभिण्डोलाई बालकुमारी अगाडि कर्माचार्यले पूजा गरी थकाली पमा नाइके श्रेष्ठले कुभिण्डो काटे लगत्तै त्यसलाई खोसेर लैजानेको भीड लागेको थियो ।
कुभिण्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुखशान्ति हुने र औषधिको रुपमा प्रयोग गर्न सकिने जनविश्वास रहिआएको छ ।
