नाइजेरियामा भएको झडपमा २० जनाको मृत्यु

जोस (नाइजेरिया), ३१ साउन (रासस–एएफपी) । मध्य नाइजेरियामा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको झडपमा २० जना भन्दा बढी मानिसको मृत्यु भएको शनिबार एक सांसद तथा अन्य स्रोतहरूले बताएका छन् । बोर्गू सङ्घीय निर्वाचन क्षेत्रका सांसद जाफर मुहम्मदले झडपको पुष्टि गर्दै झडप नियन्त्रण गर्न सुरक्षा बल परिचालन गर्न माग गर्नु भएको छ । मुहम्मदले झडपमा यस क्षेत्रका विभिन्न जातीय समूहहरूसमेत संलग्न रहेको बताउनुभएको छ ।

पछिल्लो झडपमा २० जनाभन्दा बढी मानिसहरुको मृत्यु भएको र यसको कारण स्थानीय मिलिसिया (सशस्त्र समूह) द्वारा गरिएको झडप रहेको उहाँले जनाउनु भएको छ । उहाँका अनुसार स्थितिलाई नियन्त्रणमा लिन भारी हतियारसहितको सुरक्षा बलको आवश्यकता छ । स्थानीय बासिन्दालाइ उदृत गर्दै एएफपीले उक्त लडाइँ फुलानी र काम्बारी समुदायबीच भएको जनाएको छ ।

जिहादी समूहहरूले फुलानीहरूलाई आफ्नो समूहमा भर्ती गर्ने कार्यले सरकारी बल र मिलिसियाहरूबाट घातक प्रतिशोध निम्त्याएको छ, जसमा प्रायः फुलानी सर्वसाधारण नै पीडित हुने गरेको जनाइएको छ ।

नाइजर राज्य मध्य र उत्तर–पश्चिम नाइजेरियाको ठुलो कृषि क्षेत्रमा अवस्थित छ । यो क्षेत्र वर्षौंदेखि गाईवस्तु चोर्ने र अपहरण गर्ने गिरोहहरूको आतङ्कको चपेटामा परेको छ’ यी गिरोहहरूले समुदायमाथि आक्रमण गर्ने, बासिन्दाहरूको हत्या गर्ने र घरहरू लुट्ने गर्छन् । हालैका वर्षहरूमा, देशको उत्तर–पूर्वमा १७ वर्षदेखि विद्रोह गरिरहेका जिहादी समूहहरूले नाइजर राज्यमा पनि आफ्नो उपस्थिति जनाएका छन् र प्रायः स्थानीय अपराधी गिरोहहरूसँग मिलेर हिसांत्मक गतिविधि गरिरहेका छन् ।

गत मे महिनामा, सेनासँग मिलेर काम गर्ने एक मिलिसिया समूहले शुक्रबारको झडप भएको क्षेत्र नजिकै करिब ४० जना फुलानी गोठालाहरूको हत्या गरेको थियो । उनीहरूमाथि जिहादी समूह ’अन्सारु’ का लागि सुराकी गरेको आरोप लगाइएको थियो । विशेषज्ञहरूका अनुसार, यस्ता प्रतिशोधपूर्ण कारबाहीका कारण कतिपय फुलानीहरू आफ्नो सुरक्षाका लागि जिहादी समूहहरूमा सामेल हुन बाध्य भएका छन् ।