‘निम्सदाइ’ को निधनले गैरआवासीय नेपाली संघ स्तब्ध

१६ साउन, काठमाडौं । विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद निधनको खबरले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्तब्ध भएको बताएको छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल ‘निम्सदाइ’ पुर्जा केवल नेपालको मात्र नभई विश्वभर रहेका गैरआवासीय नेपालीहरूको पनि गौरव तथा प्रेरणाका स्रोत भएको संघको भनाई छ ।

एक गैरआवासीय नेपालीका रूपमा उनले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको साहस, क्षमता र पहिचानलाई विश्वसामु गौरवका साथ स्थापित गरेको संघले जनाएको छ । उनको असामयिक निधनसँगै गैरआवासीय नेपाली समुदायले एक असाधारण अभियन्ता, प्रेरणादायी व्यक्तित्व तथा विश्वमञ्चमा नेपालीको साहस र क्षमताको परिचय गराउने अमूल्य धरोहर गुमाएको संघको भनाई छ ।

उनका असम्भवलाई सम्भव बनाउने सोच, अदम्य साहस, दृढ संकल्प, समर्पण र राष्ट्रप्रतिको योगदान नेपाल तथा विश्वभर रहेका नेपालीहरूको मनमस्तिष्कमा सदैव अमर रहने समेत संघले जनाएको छ । योगदान नेपाल र विश्वभर रहेका नेपालीहरुको मनमष्तिस्कमा सदैव अमर रहने समेत उल्लेख गरिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्मल ‘निम्सदाइ’ पुर्जा सहित यस दुःखद घटनामा ज्यान गुमाउनु भएका छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दछ। साथै, शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।