दुबई, यूएई । दुबईस्थित नेपाली महावाणिज्यदूतावासले आफ्नो सञ्चालनको पहिलो वर्षमा करिब ७५ हजार सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । २०८२ भदौदेखि २०८३ साउनसम्मको एकवर्षे अवधिमा महावाणिज्यदूतावासले राहदानी, कन्सुलर प्रमाणीकरण, श्रमसम्बन्धी समस्या समाधान तथा अन्य सार्वजनिक सेवाका क्षेत्रमा काम गरेको हो ।
महावाणिज्यदूतावासले एक वर्षमा २२ हजार राहदानी आवेदन दर्ता तथा २१ हजार राहदानी वितरण गरेको छ । त्यस्तै, ३ हजार ८ सय एकतर्फी यात्रा अनुमतिपत्र (वन वे ट्राभल डकुमेन्ट), १३ हजार कन्सुलर प्रमाणीकरण र ५ सय पावर अफ एटर्नीसम्बन्धी सेवा प्रदान गरिएको छ ।
व्यक्तिगत भिसा प्रमाणीकरण, कम्पनी तथा भिसा प्रमाणीकरण र संस्थागत डिमान्ड प्रमाणीकरण लगायतका सेवामा समेत महावाणिज्यदूतावासले काम गरेको विवरणमा उल्लेख छ । व्यक्तिगत भिसा प्रमाणीकरण र कम्पनी तथा भिसा प्रमाणीकरणअन्तर्गत ५–५ सय तथा संस्थागत डिमाण्ड प्रमाणीकरणअन्तर्गत एक हजार सेवा प्रदान गरिएको जनाइएको छ । यीमध्ये केही तथ्यांक १० महिनाको अवधिका हुन् ।
संस्थागत डिमाण्ड परीक्षणअन्तर्गत ७ हजार, शव स्वदेश फिर्तीसम्बन्धी २ सय, नेपालका लागि पर्यटक भिसा जारी ३ सय, श्रम स्वीकृति प्रमाणीकरण ३ सय ५० र श्रम स्वीकृति पुनः प्रवेश प्रमाणीकरण तथा स्वीकृतिअन्तर्गत १ हजार २ सय सेवा प्रदान गरिएको छ ।
श्रमिकका समस्या समाधानमा प्राथमिकता
महावाणिज्यदूतावासले श्रमसम्बन्धी गुनासा, जेल, ठगी, अस्पताल, राहदानीलगायतका विषयमा फोन, इमेल, म्यासेज तथा प्रत्यक्ष भेटघाटमार्फत करिब ५ हजार मुद्दा तथा गुनासोमा काम गरेको छ । उल्लेखित संख्या अन्तिम समाधान भएका मुद्दाको संख्या नभई सेवाग्राहीका समस्या सम्बोधन गर्न गरिएको पहलको संख्या रहेको छ ।
महावाणिज्यदूतावासले प्राप्त समस्या तथा गुनासो समाधानका लागि आवश्यक पहल र प्रयास गर्दै आएको जनाएको छ । श्रमिकका समस्या तथा अन्य विषयमा दैनिक औसत २० वटा मुद्दा सम्बोधन गर्ने आधारमा वार्षिक ५ हजारभन्दा बढी केसमा काम गरिएको अनुमान छ ।
महावाणिज्यदूतावासले श्रम शिविर
१० वटा भ्रमण गर्नुका साथै दुईवटा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको विवरणमा उल्लेख छ । क्षतिपूर्ति रकमको खातामा ८९ हजार २७०.५६ दिरहम मौज्दात रहेको र ८ लाख ३७ हजार ९२३.४४ दिरहम क्षतिपूर्ति रकम नेपाल पठाइएको छ । महावाणिज्यदूतावासले आर्थिक कूटनीतिसम्बन्धी १० वटा कार्यक्रम आयोजना गरेको छ भने कूटनीतिक भेटघाट, अन्तरक्रिया तथा पहुँच विस्तारका २० वटा गतिविधि सञ्चालन गरेको छ ।
डिजिटल माध्यमबाट दैनिक दुई सय प्रतिक्रिया
महावाणिज्यदूतावासले इमेल, ह्वाट्सएप र मेसेन्जरमार्फत सर्वसाधारणका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै आएको छ । त्यस्ता माध्यमबाट दैनिक औसत २ सय प्रतिक्रिया दिने गरिएको छ । महावाणिज्यदूतावासले महिनामा २० कार्यदिनका आधारमा वार्षिक ७२ हजार प्रतिक्रियाको अनुमान प्रस्तुत गरेको छ । सप्ताहन्त र सार्वजनिक बिदाका दिनमा समेत प्रतिक्रिया दिइने भएकाले वार्षिक संख्या करिब ८० हजार पुग्न सक्ने महावाणिज्यदूतावासले जनाएको छ ।
महावाणिज्यदूतावासमा सेवा लिएका सेवाग्राहीबाट २ सय २० भन्दा बढी गुगल रिभ्यु प्राप्त भएको जनाइएको छ । तीमध्ये अधिकांश सकारात्मक र उत्साहजनक रहेको तथा गुगल रिभ्यु स्कोर ४.७ रहेको छ । महावाणिज्यदूतावासले पहिलो वर्षमा करिब ५० हजार शुल्क तिर्ने सेवाग्राहीले प्रत्यक्ष सेवा लिएको अनुमान गरेको छ । यसबाहेक विभिन्न काम तथा जिज्ञासाका लागि शुल्क नतिर्ने सेवाग्राहीको संख्या त्यसको आधा रहेको अनुमानसहित पहिलो वर्षमा महावाणिज्यदूतावासमा आउने कुल सेवाग्राहीको संख्या करिब ७५ हजार पुगेको महावाणिज्यदूतावासले जनाएको छ ।
महावाणिज्यदूतावासमा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम
यूएई । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा रहेको नेपाली महावाणिज्यदूतावासमा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो । २०८३ असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न वैचारिक संस्थाका प्रतिनिधिहरु, नेपाली सामाजिक संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, व्यवसायी तथा नेपाली समुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली महावाणिज्यदूतावास दुबईका महावाणिज्यदूत हरि ओडारीले नेपालको संविधान नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धि रहेको बताउँदै यसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रुपमा संस्थागत गर्दै नागरिकका मौलिक हक, अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायको सुनिश्चितता गरेको बताए । उनले संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, समृद्धि र सामाजिक सद्भाव कायम गर्नु आजको आवश्यकता रहेको पनि बताए ।
कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले संविधान दिवसको अवसरमा आफ्ना शुभकामना मन्तव्यहरु राखेका थिए । उनीहरुले संविधानले सुनिश्चित गरेका अधिकारको संरक्षण, कार्यान्वयन तथा नेपाल र नेपालीको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
