अरुण अधिकारी–अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी
रामेछाप जिल्लामा जन्मिएका अरुण अधिकारी अहिले संयुक्त अरब इमिरेट्समा नेपाली पाककलाको प्रतिनिधित्व गरिरहेका एक अनुभवी सेफ हुन् । दुई दशकदेखि पाककला क्षेत्रमा सक्रिय उनी हाल अबुधाबीस्थित सादियात होटलमा कार्यरत छन् । ४५ देशमा बिस्तार र १० हजारभन्दा धेरै व्यक्ति आबद्ध भएको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्षसमेत रहेका अधिकारी नेपाली खानाको अन्तर्राष्ट्रिय ब्राण्डिङमा लागिपरेका छन् ।
सन् २०१८ यूएईको महासचिव हुँदै यात्रा गरेका उनी सोसाइटीको अध्यक्ष हुन् । अधिकारीले नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानलाई मुख्य उद्देश्य बनाएका छन् । उनी भन्छन्, ‘विदेशमा बसेर नेपाली स्वाद र संस्कृतिलाई विश्वसामु पु¥याउनु मेरो लक्ष्य हो ।’ हाल उनी विश्वभर छरिएका नेपाली सेफहरुलाई एउटै छानामुनि ल्याउने, उनीहरुको व्यक्तित्व विकास गर्ने र संस्थागत रुपमा सशक्त बनाउने काममा सक्रिय छन् ।
उनको नेतृत्वमा नेपाली खानाको प्रवद्र्धनका लागि नेपालमा महत्वपूर्ण कार्यक्रम र महोत्सवहरु भइरहेका छन् । उनी नेपालको भौगोलिक विविधतासँग जोडिएका परिकारहरुलाई विश्वस्तरमा चिनाउने अभियानका रुपमा अघि बढिरहेका छन् । उनी भन्छन्– ‘नेपाली खाना केवल स्वादको विषय मात्र होइन, यो नेपालको पहिचान, संस्कृति र इतिहासको जीवित दस्तावेज हो ।’