परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान

काठमाडौँ, २१ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्किए प्रस्थान गरेका छन् । टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, उहाँले नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा पनि सहभागिता जनाउने छन् ।


सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रेजिलियन्स अन्डर ओभरसुट, सेयर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन् । यसका अतिरिक्त उनले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्राडा सञ्जय आचार्य र कृषि मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रसहित नौ जना सरकारी अधिकारी सहभागी छन् । परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।