राजा बगर
दुबई
पाल्पाली समाज यूएईले ‘पाल्पाली भलिबल कप २०२६’ सम्पन्न गरेको छ । यूएईको दुबईस्थित अल खवानिज स्पोर्ट क्लबमा जुलाई ५ मा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ उक्त खेल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा आयोजक पाल्पाली समाज यूएईको दुई टिमसहित १५ टिम सहभागी भएका थिए । प्रतियोगिताको उपाधि परदेशी हातेमालो भलिबल टिम ‘ए’ प्रथम र आयोजक पाल्पाली समाज यूएईको ‘ए’ टिम उपविजेता बनेको थियो । त्यसैगरी सान्त्वना पुरस्कार पाल्पाली समाजकै ‘बी’ टिम र कास्की आदर्श समाजको टिमले हात पारेका थिए ।
कार्यक्रममा प्रमुख अथितिको रुपमा दुबईमा रहेको नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्यदूत कृष्ण चापागार्इं रहेका थिए । प्रमुख अतिथिको हातबाट बल सर्भिस गरेर प्रतियोगिताको उद्घाटन गरिएको थियो । कार्यक्रममा यूएईमा रहेका विभिन्न संस्थाका प्रमुखहरु र खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त प्रतियोगिताको प्रथम पुरस्कार राशि यूएई दिहराम ५५५५ (नेरु करिब २ लाख ३० हजार) द्वितीय पुरस्कार यूएई दिहराम ३१११ (नेरु करिब १ लाख ३० हजार) शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । सान्तवना पुरस्कारस्वरुप ६५० यूएई दिहराम (नेरु करिब २८ हजार) प्रदान गरिएको थियो । पाल्पाली समाज यूएईले स्थापनादेखि विभिन्न सामाजिक, सांस्कृतिक, सहयोगी कार्यहरु गर्दै आइरहेको छ ।