प्रधानमन्त्री बालेनलाई भारतले दियो औपचारिक भ्रमणको निम्तो

फाइल : सिंहदरबारस्थित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा प्रस्तुत भएपछि सदनबाट बाहिरीने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहलगायत । तस्बिर : रत्न श्रेष्ठ / रासस

१२ साउन, काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका छन् । उनले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । कहिले भ्रमण हुने र कहिलेको लागि दिएको भन्ने चाहिँ उनले खुलाएका छैनन् । पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै यसबारे प्रश्न गरेका थिए ।

उक्तप्रश्नको जवाफमा प्रवक्ता जैसवालले भने,’पहिलो प्रश्नकोबारेमा म जानकार छैन । नेपालका प्रधानमन्त्रीको भ्रमणकोबारे निमन्त्रणा गइसकेको छ ।’

प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले केही साता अघि भारत भ्रमण गरी भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेको खबर थियो । यो प्रसंगतर्फ इंगित गर्दै पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता जैसवालले त्यसबारे आफूलाई जानकारी नरहेको बताएका थिए।