प्रवास नेपाली सम्पर्क विभाग यूएईको श्रद्धाञ्जली सभा

यूएई । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउने नागरिकको सम्झनामा प्रवास नेपाली सम्पर्क विभाग यूएईले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।


विभागका प्रमुख सुजन थापाको सभापतित्वमा गत १३ सेप्टेम्बरमा बरदुबईको क्लब एभरेष्टमा उक्त सभा आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली महावाणिज्यदूतावास दुबईका उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागार्इं रहेका थिए । सभामा यूएईमा क्रियाशील विभिन्न वैचारिक संस्थाका प्रमुखहरु, नेपाली समाज, एनआरएन लगायतका सामाजिक संस्थाका प्रतिनितिहरुको उपस्थिति रहेको थियो ।


सभामा भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाउनेहरुको सम्झनामा मौन धारण, दीप प्रज्ज्वलन गरिएको थियो । साथै कार्यक्रमका वक्ताहरुले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै बेपत्ताहरुको छिटो खोजीकार्य होस् र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ होस् भन्ने कामना गरेका थिए ।