लक्ष्मण खनाल
२१ असार, यूएई । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली श्रमिकहरुको प्रमुख रोजगारी गन्तव्यका रुपमा परिचित छ । लाखौं नेपालीहरु यहाँ निर्माण, यातायात, सुरक्षा, आतिथ्य सेवा, उद्योग तथा विभिन्न व्यावसायिक क्षेत्रमा कार्यरत छन् । विदेशमा रोजगारीले आर्थिक अवसर र परिवारको जीवनस्तर सुधार्ने सम्भावना प्रदान गरे पनि यससँगै स्वास्थ्यसम्बन्धी विभिन्न चुनौतीहरु पनि जोडिएका हुन्छन् ।
विशेषगरी अत्यधिक गर्मी, लामो कार्यसमय, मानसिक तनाव, असन्तुलित खानपान तथा स्वास्थ्य सेवाप्रतिको सीमित पहुँचका कारण धेरै श्रमिकहरु स्वास्थ्य समस्याको जोखिममा पर्ने गरेका छन् । त्यसैले यूएईमा रहेका नेपाली तथा श्रमिकहरुका लागि स्वास्थ्य सचेतना अत्यन्त आवश्यक विषय बनेको छ ।
यूएईमा रहेको नेपाली राजदूतावास र महावाणिज्य दूतावास लगायत यहाँ क्रियाशील विभिन्न नेपाली समाजिक संघसंस्थाहरुले बेलाबेलामा श्रमिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमहरु गर्ने गरेको पाइन्छ । स्थानीय प्रशासनको निर्देशनमा कम्पनीले कार्यस्थलहरुमा स्वास्थ्य सजगतासम्बन्धी सूचनापाटीहरु राखेको हुन्छ । यूएई सरकारले पनि विभिन्न माध्यमबाट स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम र प्रचार सामग्रीहरु प्रदान गरिरहेको हुन्छ । तर पनि विभिन्न समयमा श्रमिक स्वास्थ्यका समस्याहरु आई नै रहेका पाइन्छन् । यूएईमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सचेतनासम्बन्धी मुख्यतः निम्न विषयमा चर्चा गरौं :

अत्यधिक गर्मी
यूएई विश्वका अत्यधिक गर्मी हुने देशहरुमध्ये एक हो । गर्मी मौसममा तापक्रम ४५ देखि ५० डिग्री सेल्सियसभन्दा माथिसम्म पुग्न सक्छ । विशेषगरी बाहिरी वातावरणमा काम गर्ने निर्माण तथा श्रम क्षेत्रमा संलग्न कामदारहरु गर्मीका कारण स्वास्थ्य समस्याको उच्च जोखिममा हुन्छन् ।
अत्यधिक गर्मीले शरीरमा पानीको कमी, चक्कर लाग्ने, टाउको दुख्ने, अत्यधिक थकान महसुस हुने, रक्तचाप असन्तुलित हुने तथा गम्भीर अवस्थामा हीट स्ट्रोकसमेत हुन सक्छ । त्यसैले श्रमिकहरुले नियमित रुपमा प्रशस्त पानी पिउनु आवश्यक छ । काम गर्ने क्रममा विश्राम लिनु, घामबाट जोगिने उपाय अपनाउनु तथा सुरक्षात्मक पोशाक प्रयोग गर्नु पनि उत्तिकै महत्वपूर्ण छ ।
यूएई सरकारले गर्मीको समयमा प्रत्यक्ष सूर्यको किरण पर्ने ठाउँहरुमा दिउँसो १२ः३० बजेदेखि ३ बजेसम्मको समयमा काम गर्न प्रतिबन्ध लगाएको हुन्छ । तर, श्रमिकहरु यूएई सरकारको कानुनलाई समेत बेवास्ता गरेर अत्यधिक गर्मीमा काम गर्ने गर्दछन् जसले गर्दा श्रमिकलाई स्वास्थ्य समस्या हुने गर्दछ । धेरै श्रमिकहरुले कामको चापका कारण पानी पिउने वा आराम गर्ने समयलाई बेवास्ता गर्ने गरेको पाइन्छ, जुन स्वास्थ्यका लागि निकै जोखिमपूर्ण हुन सक्छ ।
सन्तुलित आहार र पोषणको महत्व
विदेशमा बसोवास गर्दा धेरै श्रमिकहरु आर्थिक बचत गर्ने उद्देश्यले खानपानमा पर्याप्त ध्यान दिन सक्दैनन् । कतिपयले सस्तो र छिटो उपलब्ध हुने खाद्य पदार्थमा निर्भर रहने गरेका छन् । यसले शरीरमा आवश्यक पोषक तत्वको कमी हुन सक्छ ।
स्वस्थ जीवनका लागि सन्तुलित आहार अपरिहार्य छ ।
दैनिक भोजनमा हरियो सागसब्जी, फलफूल, दाल, अन्न तथा प्रोटिनयुक्त खानेकुरा समावेश गर्नुपर्छ । अत्यधिक तेल, चिल्लो, नुन तथा चिनीको प्रयोग कम गर्नुपर्छ । नियमित समयमा खाना खाने बानीले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्नुका साथै विभिन्न रोगबाट पनि जोगाउँछ ।
धेरै श्रमिकहरुमा मधुमेह, उच्च रक्तचाप, मोटोपन तथा मुटुसम्बन्धी रोगको जोखिम बढ्दै गएको देखिन्छ । यसका प्रमुख कारणमध्ये असन्तुलित आहार, शारीरिक गतिविधिको कमी तथा अनियमित जीवनशैली रहेका छन् । त्यसैले स्वस्थ खानपानलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउन आवश्यक छ ।
मानसिक स्वास्थ्य
स्वास्थ्य भन्नाले केवल शारीरिक स्वास्थ्य मात्र बुझिँदैन, मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्वपूर्ण पक्ष हो । विदेशमा काम गर्ने धेरै नेपालीहरु परिवार, श्रीमान्–श्रीमती, सन्तान तथा आफन्तबाट टाढा बस्न बाध्य हुन्छन् । यसले एक्लोपन, चिन्ता, तनाव तथा भावनात्मक दबाब सिर्जना गर्न सक्छ ।

कामको चाप, आर्थिक जिम्मेवारी, ऋणको बोझ तथा भविष्यप्रतिको अनिश्चितताले मानसिक तनाव बढाउन सक्छ । कतिपय अवस्थामा यसले डिप्रेसन, निद्रासम्बन्धी समस्या तथा अन्य मानसिक स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ ।
मानसिक स्वास्थ्य राम्रो राख्न परिवारसँग नियमित सम्पर्कमा रहनु, साथीभाइसँग समय बिताउनु, मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुनु तथा पर्याप्त आराम गर्नु आवश्यक छ । यदि अत्यधिक तनाव, निराशा वा मानसिक असहजता महसुस भएमा स्वास्थ्यकर्मी वा परामर्शदातासँग सहयोग लिन हिच्किचाउनु हुँदैन । मानसिक समस्यालाई लुकाएर राख्नुभन्दा समयमै समाधान खोज्नु बुद्धिमानी हुन्छ ।
नियमित व्यायाम
व्यस्त कार्यतालिका भए पनि स्वस्थ जीवनका लागि नियमित शारीरिक गतिविधि आवश्यक हुन्छ । धेरै श्रमिकहरु कामपछि थकित हुने भएकाले व्यायामलाई प्राथमिकता दिँदैनन् । तर दैनिक २० देखि ३० मिनेटको सामान्य व्यायामले पनि स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ ।
हिँड्ने, दौडिने, स्ट्रेचिङ गर्ने वा हल्का व्यायाम गर्ने बानीले शरीरलाई तन्दुरुस्त राख्छ । यसले मोटोपन नियन्त्रण गर्नुका साथै मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको जोखिम पनि कम गर्छ । साथै व्यायामले मानसिक तनाव कम गर्न र निद्रा सुधार गर्न पनि मद्दत पु¥याउँछ ।
कार्यस्थलको सुरक्षा
यूएईमा कार्यरत धेरै नेपालीहरु निर्माण, उद्योग तथा जोखिमयुक्त क्षेत्रमा काम गर्छन् । कार्यस्थलमा हुने दुर्घटनाहरुले गम्भीर शारीरिक क्षति पु¥याउन सक्छन् । त्यसैले सुरक्षा नियमहरुको पालना गर्नु अत्यन्त आवश्यक छ ।
काम गर्दा हेलमेट, सुरक्षा जुत्ता, सुरक्षा बेल्ट, पञ्जा तथा अन्य सुरक्षात्मक सामग्री अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ । कम्पनीले उपलब्ध गराएको सुरक्षा तालिमलाई गम्भीरतापूर्वक लिनुपर्छ । कुनै पनि जोखिमपूर्ण अवस्था वा उपकरणमा समस्या देखिएमा कम्पनीको जिम्मेवार व्यक्ति वा आफूले रिपोर्ट गर्ने व्यक्तिलाई जानकारी गराउनुपर्छ । सुरक्षालाई बेवास्ता गर्दा सामान्य गल्तीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ । त्यसैले ‘पहिला सुरक्षा, त्यसपछि काम’ भन्ने सोचलाई व्यवहारमा लागू गर्न आवश्यक छ ।

स्वास्थ्य परीक्षण
धेरै स्वास्थ्य समस्याहरु प्रारम्भिक चरणमा कुनै लक्षण नदेखाई विकसित हुन सक्छन् । त्यसैले नियमित स्वास्थ्य परीक्षण गराउनु अत्यन्त महत्वपूर्ण हुन्छ । रक्तचाप, मधुमेह, कोलेस्ट्रोल तथा अन्य दीर्घरोगहरुको समयमै पहिचान भएमा उपचार प्रभावकारी हुन्छ ।
श्रमिकहरुले स्वास्थ्य बीमासम्बन्धी जानकारी राख्नुपर्छ र उपलब्ध स्वास्थ्य सेवाको उपयोग गर्नुपर्छ । बिरामी हुँदा औषधि आफैं किनेर सेवन गर्नेभन्दा योग्य चिकित्सकको सल्लाह लिनु उचित हुन्छ । नियमित स्वास्थ्य जाँचले रोगको जोखिम घटाउनुका साथै स्वस्थ जीवनयापनमा सहयोग पु¥याउँछ ।
कुलत
तनाव कम गर्ने बहानामा कतिपय व्यक्तिहरु धूम्रपान, मदिरा सेवन वा अन्य अस्वस्थ बानीतर्फ आकर्षित हुने गर्छन् । यस्ता बानीहरुले स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पार्छन् । धूम्रपानले फोक्सो, मुटु तथा श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पु¥याउँछ भने अत्यधिक मदिरा सेवनले कलेजो तथा अन्य अंगहरुलाई क्षति पु¥याउन सक्छ । स्वस्थ जीवनशैली अपनाउन यस्ता बानीहरुबाट टाढा रहनु आवश्यक छ । तनाव व्यवस्थापनका लागि व्यायाम, सामाजिक गतिविधि तथा सकारात्मक सोचलाई प्राथमिकता दिनुपर्छ ।
अन्त्यमा…..
यूएईमा रहेका नेपाली तथा अन्य श्रमिकहरु देशको अर्थतन्त्र र आफ्ना परिवारको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । तर आर्थिक उपलब्धिसँगै स्वास्थ्यलाई पनि समान रुपमा महत्व दिन आवश्यक छ । अत्यधिक गर्मीबाट बच्ने, सन्तुलित आहार खाने, नियमित व्यायाम गर्ने, मानसिक स्वास्थ्यको ख्याल गर्ने, कार्यस्थल सुरक्षाको पालना गर्ने तथा नियमित स्वास्थ्य परीक्षण गराउने बानीले स्वस्थ जीवन सुनिश्चित गर्न मद्दत गर्छ ।
स्वास्थ्य राम्रो भए मात्र श्रमिकले आफ्नो क्षमता पूर्ण रुपमा उपयोग गर्न सक्छन् । त्यसैले ‘स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो’ भन्ने सन्देशलाई आत्मसात गर्दै प्रत्येक नेपाली श्रमिकले स्वास्थ्य सचेतनालाई आफ्नो दैनिक जीवनको प्राथमिकतामा राख्नुपर्छ । स्वस्थ श्रमिक, सुखी परिवार र समृद्ध समाज निर्माणको आधार पनि यही हो ।
यूएई सरकार र सम्बन्धित कम्पनीले दिएका स्वास्थ्य मापदण्डहरु पालना गरौं, आफू स्वस्थ बनौं र सकेसम्म धेरै साथीभाइहरुलाई स्वास्थ्य सचेतना सल्लाह र सुझाव दिने बानी बसालौं । एउटा सानो सल्लाह वा सुझावले हाम्रै श्रमिकहरुको जीवन सुरक्षित हुन सक्छ ।