फ्रान्सका फुटबलर किलियन एमबापेको माओत्सेतुङ सम्बन्धी टिप्पणीपछि चीनमा रियाल मड्रिडको खेल प्रसारणमा रोक

१६ कात्तिक, काठमाडौं । चीनको राष्ट्रिय टेलिभिजन सीसीटीभीले आइतबार भएको स्पेनिस ला लिगाअन्तर्गत रियाल मड्रिडको खेल प्रसारण गरेन। रियाल मड्रिडका स्टार स्ट्राइकर किलियन एमबापेले चीनका पूर्व नेता माओत्सेतुङसँग सम्बन्धित एक भिडियो–मिमलाई लिएर गरेको टिप्पणीका कारण चिनियाँ पक्ष रुष्ट बनेपछि यो कदम चालिएको हो। फ्रान्सेली टक शो द ब्रिजमा एमबापेले आफ्नो अनुहार चीनका पूर्व नेता माओत्सेतुङको फोटोमा जोडिएको मिम हेरेर हासेको र त्यसलाई चिनियाँ तानाशाहको संज्ञा दिँदै आफूलाई सबैभन्दा धेरै हसाउने मिम भनेका थिए।


टिप्पणीप्रति तीव्र विरोध भएपछि एमबापेले आफ्नो भनाइ अविवेकी रहेको भन्दै चीन तथा विश्वभरका चिनियाँ समुदायसँग माफी मागेका थिए। उनीसँगै रियाल मड्रिड र ला लिगाले पनि औपचारिक रूपमा क्षमायाचना गरेका छन्। चीनको सञ्चारमाध्यम नियामक निकाय चाइना मिडिया ग्रुपले ला लिगा र एमबापेका खेलहरूको प्रसारण रोक्ने निर्णय गरेको थियो। माफीलाई स्वीकार गरे पनि यो प्रतिबन्ध कहिलेसम्म कायम रहने भन्नेबारे चीनले कुनै स्पष्ट जानकारी दिएको छैन। विवादका कारण एमबापेलाई केही चिनियाँ ब्रान्डहरूले आफ्ना प्रायोजनबाट हटाएका छन्।
ँ
चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङलाई चीनमा उच्च सम्मानका साथ हेरिन्छ। उनको नेतृत्वमा चलेका ग्रेट लीप फरवर्ड र सांस्कृतिक क्रान्ति जस्ता अभियानका क्रममा ठूलो संख्यामा भोकमरी र हिंसाबाट मानिसहरूको ज्यान गए पनि उनीमाथि गरिने व्यङ्ग्य वा टिप्पणीलाई चीनमा निकै संवेदनशील मानिन्छ। चीनले राजनीतिक रूपमा संवेदनशील विषयलाई लिएर खेल प्रसारणमा रोक लगाएको यो पहिलो पटक भने होइन। यसअघि सन् २०१९ मा अमेरिकाको एनबीए टोली ह्युस्टन रकेट्सका जनरल म्यानेजर डारिल मोरेले हङकङका लोकतन्त्रवादी प्रदर्शनकारीको समर्थनमा ट्वीट गरेपछि चीनले एक वर्षसम्म एनबीएका खेलहरूको प्रसारणमा प्रतिबन्ध लगाएको थियो।

प्रसारणमा प्रतिबन्ध रहे तापनि आइतबार भएको खेलमा रियाल मड्रिडले रासिङ सान्टान्डरलाई ३–० ले पराजित गर्‍यो। उक्त खेलमा किलियन एमबापे, जुड बेलिङ्गम र यान डिओमान्डेले ११ गोल गरेका थिए।