बङ्गलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु

(260525) -- TANGAIL, May 25, 2026 (Xinhua) -- This photo taken on May 25, 2026 shows a scene at the site of a truck accident in Tangail district, Bangladesh. At least 15 people were killed, and six others injured early on Monday when a rod-laden truck overturned into a bridge-side ditch in Bangladesh's Tangail district, some 97 km away from the capital Dhaka. (Xinhua)

ढाका, १२ जेठ (रासस–एपी) । मध्य बङ्गलादेशमा प्रमुख राजमार्गमा सोमबार बिहान भएको भीषण ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । फलामको रड र अतिरिक्त यात्रु बोकेको उक्त ट्रक अनियन्त्रित भई पल्टिँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटना राजधानी ढाकाबाट करिब ८३ किलोमिटर उत्तर–पश्चिममा पर्ने टाङ्गैल जिल्लाको सोराटोल क्षेत्रमा बिहान करिब ५ बजे भएको हो । स्थानीय प्रहरी प्रमुख फुआद हुसेनका अनुसार चालकले नियन्त्रण गुमाएपछि ट्रक सडकमा पल्टिएको थियो ।

उनका अनुसार ट्रकले हिचहाइक (यात्राका लागि लिफ्ट लिएका) यात्रुहरू बोकेको थियो र ढाकाबाट उत्तरी क्षेत्रतर्फ जाँदै थियो । दुर्घटनापछि घटनास्थलमै धेरै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ । घटना इस्लामिक पर्व ईद अल–अधा अघि यात्रुहरूको चहलपहल बढिरहेका बेला भएको हो । आगामी बिहीबार मनाइने उक्त पर्वका लागि धेरै मानिसहरू आफ्नो परिवारसँग भेट्न देशभर यात्रा गरिरहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा परेकामध्ये अधिकांश दैनिक ज्यालादारीमा काम गर्ने मजदुर रहेका थिए । उनीहरू चाडपर्वका लागि आफ्ना परिवारसँग पुनः भेट गर्न यात्रा गरिरहेका थिए । प्रत्यक्षदर्शीहरूले स्थानीय टेलिभिजन च्यानलहरूलाई बताएअनुसार ठूलो आवाज सुनेपछि उनीहरू घटनास्थलमा पुगेका थिए । त्यसपछि फसेका यात्रुहरूलाई उद्धार गर्ने प्रयास गरिएको थियो ।

बङ्गलादेशमा यस्ता सडक दुर्घटना बारम्बार हुने गरेका छन् । सत्र करोडभन्दा बढी जनसङ्ख्या भएको यस देशमा ट्राफिक नियमको कमजोर पालना, खराब सडक अवस्था र लापरवाह ड्राइभिङका कारण प्रत्येक वर्ष हजारौँ मानिसको ज्यान जाने गरेको अधिकारीहरूले जनाएका छन् ।