नारायणगढ (चितवन), ११ भदौः बुधबार भोटेकोशी नदीमा गएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको शवबाट कानमा लगाएको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नदी किनारमा रहेको शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले श्रव्यदृश्य सामग्रीमा देखिएका दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रामेश्वर पौडेलका अनुसार श्रव्यदृश्यमा देखिएको विवरणका आधारमा अनुसन्धान गर्ने क्रममा भरतपुर महानगरपालिका १ पोखरा बसपार्क नजिकबाट नवलपरासीको विनयत्रिवेणी गाउँपालिका १ घर भई हाल भरतपुर १ लीलाचोकमा मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका ५ घर भई हाल भरतपुरका २ पोखरा बसपार्क सुपारीटोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन ल्याइएको प्रमुख पौडेलले जानकारी दिए ।
