युक्रेन विवादमा बोलेका जर्मन नौसेना प्रमुखले गरे राजिनामा

काठमाडौं । युक्रेनको विवादबारे टिप्पणी गरेका जर्मनीका नौसेना प्रमुखले राजीनामा गरेका छन्। के-खिम श्योनबाखले युक्रेनमाथि रुसले आक्रमण गर्न चाहेको भन्ने कुरा बकवास रहेको बताएका थिए। उनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले मात्र सम्मान खोजेको समेत बताएका थिए । बीबीसीका अनुसार युक्रेनलाई अमेरिका र यूके सहितका अन्य केही राष्ट्रहरूले हातहतियार उपलब्ध गराएका छन्।

तर जर्मनीले भने हतियार उपलब्ध गराउन युक्रेनले गरेकोआग्रह अस्वीकार गरेको छ। पुटिनले पश्चिमा राष्ट्रहरूसमक्ष केही मागहरू अघि सारेका र यसमा रुसी सुरक्षा चासो समेटिएको उनले बताएका थिए । युक्रेनलाई सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोको सदस्य बन्नबाट रोकिनुपर्ने रुसले माग गरेको छ। रुसमाथि प्रत्यक्ष सुरक्षा खतरा हुने भन्दै नेटोले पूर्वी युरोपमा सैन्य अभ्यास गर्न अनि हतियार पठाउन बन्द गर्नुपर्ने पुटिन चाहन्छन्।

शुक्रवार भारतमा एउटा थिङ्क ट्याङ्कले आयोजना गरेको छलफलमा आफ्नो विचार राख्ने क्रममा जर्मन नौसेना प्रमुखले त्यस्तो टिप्पणी गरेका थिए। भिडियोमा उनले पश्चिमा राष्ट्रहरूले पुटिनलाई समान रूपमा व्यवहार गर्न आवश्यक रहेको उल्लेख गरेका छन्। युक्रेनको विदेश मन्त्रालयले श्योनबाखको टिप्पणीलाई अस्वीकार्य भनेको थियो । शनिवार श्योनबाखले थप क्षति हुन नदिन आफ्नो पदबाट राजीनामा गरेको बताए ।