युद्धविराम अघि अमेरिका–इजरायल आक्रमणमा इरानका पुल, राजमार्ग र रेल संरचनामा व्यापक क्षति

(260407) -- TEHRAN, April 7, 2026 (Xinhua) -- People take part in a memorial event held to mourn the students of an elementary school who were killed in a missile strike in southern Iran, in Tehran, Iran, April 7, 2026. A missile strike on an elementary school in Minab, southern Iran on Feb. 28, 2026 killed at least 175 people, most of them schoolgirls. Increasing evidence has shown this tragedy was of the U.S. making. (Xinhua/Shadati)

तेहरान, २५ चैत (रासस–एएफपी) । इरानका अधिकारीहरूले मङ्गलबार अमेरिका–इजरायलद्वारा गरिएका हवाई आक्रमणका क्रममा देशका महत्वपूर्ण पूर्वाधारहरूमा क्षति पुगेको बताएका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार, पवित्र शहर कुम नजिकको एक पुल तथा केन्द्रीय शहर काशानमा रहेको रेलमार्गसहितको अर्को पुलमा आक्रमण गरिएको छ । काशानमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । यो जानकारी क्षेत्रीय सुरक्षा अधिकारी अकबर सालेहीलाई उद्धृत गर्दै इरानको आईआरएनए समाचार एजेन्सीले दिएको हो ।

उत्तरी इरानमा रहेको प्रमुख राजमार्ग पनि प्रभावित भएको छ । तब्रिज शहरलाई तेहरानसँग जोड्ने उक्त राजमार्गमा आक्रमण भएपछि करिब ९० किलोमिटर दूरीमा यातायात अवरुद्ध भएको अधिकारीहरूले बताएका छन् । इरानको रिभोलुसनरी गाड्र्ससँग सम्बन्धित एक टेलिग्राम च्यानलका अनुसार, आक्रमण ओभरपास पुलमा लक्षित गरिएको थियो । तेहरान नजिकको कराज क्षेत्रमा रेलमार्गमा पनि आक्रमण भएको मिजान समाचार एजेन्सीले जनाएको छ । सार्वजनिक गरिएका तस्बिरहरूमा उद्धारकर्मीहरूले घाइतेलाई स्ट्रेचरमा लैजाँदै गरेको देखिन्छ ।

इजरायलले रेलमार्ग प्रयोग नगर्न चेतावनी दिएपछि मङ्गलबार इरानको दोस्रो ठूलो शहर मशहदतर्फ जाने र आउने सबै रेल सेवा रद्द गरिएको छ । आईआरएनए समाचार एजेन्सीका अनुसार, कराज र फर्दिस क्षेत्रमा विद्युत् प्रसारण लाइन तथा सबस्टेसनमा क्षति पुगेपछि आंशिक विद्युत् अवरोध भएको छ । यसैबीच, इजरायली सेनाले ‘पूर्वाधार लक्षित व्यापक आक्रमण’ सम्पन्न गरेको पुष्टि गरेको छ, तर कुन–कुन स्थानमा आक्रमण गरिएको भन्ने विवरण दिएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानले युद्ध अन्त्यका लागि सम्झौता नगरे पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका थिए । उनले ‘सबै कुरा ध्वस्त पार्ने र तेल नियन्त्रणमा लिने’ सम्भावनाबारे पनि विचार गरिरहेको बताए ।