१९ कात्तिक, काठमाडौं । युरोपको हवाई क्षेत्रमा एक्कासि शृङ्खलाबद्ध रूपमा आएका बम धम्कीका कारण बिहीबार युरोपभरका विभिन्न विमानस्थल तथा उडानहरूमा ठूलो हलचल पैदा भएको छ। डब्लिन, लन्डन, वारसा, मिलाउन, एथेन्स र हेल्सिङ्की जस्ता प्रमुख सहरहरूबाट उडान भरेका कम्तीमा १८ वटा व्यावसायिक उडानहरूलाई लक्षित गरी बम राखिएको धम्की दिइएपछि कतिपय विमानहरूलाई आपत्कालीन रूपमा अन्यत्रै मोडिएको छ । कतिपयलाई लडाकु विमानको सुरक्षा घेराभित्र अवतरण गराइएको छ।
अहिलेसम्म गरिएका सम्पूर्ण सुरक्षा जाँचहरूमा कुनै पनि प्रकारको विस्फोटक पदार्थ वा शङ्कास्पद वस्तु फेला परेको छैन। अधिकारीहरूले यसलाई आतङ्क र अन्योल सिर्जना गर्ने उद्देश्यले गरिएको दुर्भावनापूर्ण झुटा धम्की भएको पुष्टि गरेका छन्। बिहीबार बिहानैदेखि युरोपका विभिन्न एयरलाइन्स तथा विमानस्थलका इमेल र सञ्चार प्रणालीमा शृङ्खलाबद्ध रूपमा धम्कीपूर्ण सन्देशहरू आएका थिए। यस घटनाबाट युरोपका धेरैजसो प्रमुख वायुसेवा कम्पनीहरू र विमानस्थलहरू प्रभावित बनेका छन् ।
डब्लिनबाट रोमका लागि १५१ जना यात्रु र ६ जना चालक दलका सदस्य लिएर उडेको एर लिङ्गसको उडानलाई उडानकै क्रममा बमको धम्की आएपछि फ्रान्सको नोर्मान्डीस्थित इभ्रेक्स फौभिल सैन्य हवाई अड्डामा आकस्मिक अवतरण गराइएको थियो। यात्रुहरूलाई दुई घण्टाभन्दा बढी विमानभित्रै राखेर तालिमप्राप्त कुकुर तथा सैन्य टोलीले गहन खोजी गरेका थिए।
बेलग्रेडबाट रोमानियाको बुकारेस्टतर्फ उडेको एयर सर्बियाको उडानलाई पनि गन्तव्यमा पुग्ने क्रममा बमको धम्की दिइएको थियो। विमान सुरक्षित रूपमा बुकारेस्टमा अवतरण भएपछि प्रहरीले जाँच गरी धम्की निराधार रहेको पुष्टि गरेको छ। मड्रिड–बाराजास विमानस्थललाई लक्षित गरी इबेरियाका दुई उडानहरू (मिलानबाट मड्रिड र रोमबाट मड्रिड) मा बम राखिएको सन्देश प्राप्त भएको थियो। विमानहरूलाई मड्रिडमा सुरक्षित अवतरण गराई यात्रुहरूलाई सामान्य प्रक्रियाबाटै ओरालेर जाँच गरिएको थियो।
बेलायतका न्युकासल र ग्लास्गोबाट चेक गणतन्त्रको प्रागका लागि उडेका दुई वटा इजिजेटका उडानहरूसहित प्राग पुगेका कुल ४ वटा विमानहरूलाई बमको आशङ्कामा प्रहरी र सुरक्षा निकायले घेरेर विशेष जाँच गरेका थिए। ग्रिसको एजीयन एयरलाइन्सका थिस्सालोनिकीबाट मिलान र एथेन्सबाट भियना जाँदै गरेका दुई उडानमा धम्की आएको थियो। भियना जाँदै गरेको विमानमा ग्रिसका उपविदेशमन्त्री तासोस च्यात्जिभासिलिओयु समेत सवार थिए।
बेलायतको लन्डन स्थित हिथ्रो र बर्मिङ्गम विमानस्थलले पनि बिहीबार बिहान धम्कीपूर्ण सन्देश प्राप्त भएको पुष्टि गरेका छन्। यद्यपि, हिथ्रो विमानस्थलले यसलाई गैरविश्वासयोग्य ठहर गर्दै उडान सञ्चालन सामान्य राखेको थियो। फिनल्यान्डको फिनएयर पोल्यान्डको लट विज एयरर रायन एयरका उडानहरू समेत यसबाट प्रभावित भएका छन्। पोल्यान्डको वारसाबाट पेरिस उड्न लागेको लटको विमानलाई धावनमार्गबाटै फर्काएर सुरक्षा जाँच गरिएको थियो।
धम्कीको प्रकृति गम्भीर र विशिष्ट देखिएपछि विभिन्न देशका वायुसेनाले आफ्ना लडाकु विमानहरू परिचालन गरेका थिए । अस्ट्रियाको रक्षा मन्त्रालयका प्रवक्ता माइकल बाउरका अनुसार, अस्ट्रियाली आकाशमा प्रवेश गरेका प्रभावित नागरिक विमानहरूलाई सुरक्षा दिन यूरोफाइटर लडाकु विमानहरू परिचालन गरिएको थियो।
इटाली र बुल्गेरियाको वायुसेनाले पनि आफ्नो क्षेत्रमा प्रवेश गरेका शङ्कास्पद उडानहरूलाई एस्कर्ट गर्दै विमानस्थलसम्म पुर्याएका थिए। डब्लिनबाट रोम जाँदै गरेको विमानका यात्रुहरूले अवतरणका क्रममा लडाकु विमानहरूको आवाज सुनेको र पछाडि अवतरण गरेको देखेको बताएका छन्।
इटालीका विमानस्थल अधिकारीहरूसँगको कुराकानी अनुसार, रोमका विमानस्थलहरूलाई प्राप्त धम्कीपूर्ण इमेलमा ,मेल स्टेटका योद्धा, भन्ने समूहको नाम उल्लेख गरिएको छ। इमेलमा उनीहरूले नारीवादी शासनलाई लक्षित गरेको र आकाशलाई रातो बनाइदिने जस्ता चेतावनी दिएका थिए।
यद्यपि, युरोपेली सङ्घका यातायात आयुक्त अपोस्टोलोस त्जित्जिकोस्टासले यी सबै धम्कीहरू आपसमा जोडिएका छन् या छैनन् भन्नेबारे अहिल्यै निष्कर्षमा पुग्न हतार हुने बताएका छन्। उनले भने, हामी अवस्थालाई नजिकबाट नियालिरहेका छौँ। राष्ट्रिय अनुसन्धान एजेन्सीहरूले यसको गहिरो अध्ययन गरिरहेका छन्।’
विमानस्थल सुरक्षा विशेषज्ञ प्राध्यापक फिलिप बाउमका अनुसार, विमानसेवा क्षेत्रले दैनिक जसो धम्कीहरू सामना गर्ने भए तापनि एकैदिन यति धेरै विशिष्ट र गम्भीर प्रकारका धम्कीहरू आउनु असामान्य हो। यस्ता झूटा धम्कीहरूले उड्डयन सुरक्षा प्रणालीलाई अल्मल्याउने, आर्थिक क्षति पुर्याउने र मानिसहरूमा त्रास फैलाउने काम गर्दछन्।
बेलायतकी यातायात मन्त्री हेडी अलेक्जेन्डरले घटनाबारे प्रतिक्रिया दिँदै युरोपभरका उडानहरू दुर्भावनापूर्ण झुटा धम्कीबाट प्रभावित भएको पुष्टि गरिन्। उनले भनिन्, हामी यस्ता धम्कीहरूलाई अत्यन्त गम्भीरताका साथ लिन्छौँ। तर अहिलेको अनुसन्धानले यो पूर्ण रूपमा अफवाह र झुटो धम्की मात्रै भएको देखाएको छ।’ यस्तै, बेलायती सरकारका प्रवक्ताले बिहीबार बिहानैदेखि सुरु भएको यो तनावपूर्ण स्थिति अब नियन्त्रण र हल इसकेको जानकारी दिएका छन्।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा
