यूएईमा एआईसम्बन्धी कार्यशाला गोष्ठी

१ असोज, यूएई । नेपाली समाज यूएईको आयोजना तथा नेपाल पत्रकार महासंघ यूएई शाखाको सहकार्यमा ‘एआईको शक्ति सिकाइदेखि व्यावसायिक प्रयोगसम्म’ विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । अगष्ट १५ शनिबार दुबईस्थित जयज किचनको सभाहलमा आयोजित उक्त कार्यक्रमको मुख्य वक्ताको रुपमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका निवर्तमान महासचिव रोसन पुरी रहेका थिए ।
कार्यक्रमका प्रमुख वक्ता तथा प्रशिक्षक पुरीले दैनिक क्रियाकलापमा एआईको व्यावहारिक प्रयोगसम्बन्धी जानकारीमूलक वृत्तचित्र प्रस्तुत गरेका थिए ।

प्रश्नोत्तर र अन्तरक्रियात्मक रुपमा चलेको उक्त कार्यकममा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्था प्रमुख र प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानले कार्यक्रमको विषयवस्तु राखेका थिए । कार्यक्रममा एआईको प्रयोग, एआईमार्फत कार्यक्रम उत्पादन, एआईमा भाषा, वर्तमान अवस्थामा यसका नीतिगत जानकारीहरु, यसबाट हुने जोखिम र गोपनीयताका विषयमा प्रशिक्षक पुरीले प्रष्ट पारेका थिए ।