राहदानी लिन अब महावाणिज्यदूतावास धाउनु नपर्ने, इमिरेट्स पोस्टबाट घरमै डेलिभरी

दुबई । नेपाली महावाणिज्यदूतावास, दुबईले नयाँ बनेर आएका राहदानी सेवाग्राहीको ठेगानामै डेलिभरी गर्ने व्यवस्था मिलाएको छ । दूतावासले सूचना जारी गर्दै यूएईको सरकारी हुलाक सेवा इमिरेट्स पोस्टमार्फत सम्बन्धित आवेदकको ठेगानामा राहदानी पु¥याउने व्यवस्था गरिएको जनाएको हो ।
‘नयाँ बनेर आएको राहदानी लिन महावाणिज्यदूतावाससम्म आउँदा छुट्टी लिनुपर्ने, समय र यात्रा खर्च हुनेलगायतका समस्या देखाउँदै सेवाग्राहीबाट हुलाकमार्फत राहदानी डेलिभरीको अनुरोध हुँदै आएको थियो ।

सोही अनुरोधलाई सम्बोधन गर्दै दूतावासले नयाँ व्यवस्था लागू गरेको हो’, महावाणिज्यदूतावासले जनाएको छ । व्यवस्थाअनुसार राहदानी आवेदनको बायोमेट्रिक दिने समयमा सम्बन्धित आवेदकले महावाणिज्यदूतावासमा डेलिभरी फाराम भरेर बुझाउनुपर्नेछ । राहदानी बनेर आएपछि दूतावासले डेलिभरीका लागि इमिरेट्स पोस्टलाई उपलब्ध गराउनेछ ।


राहदानी डेलिभरीको समयमा सेवाग्राहीले इमिरेट्स पोस्टलाई शुल्क बुझाउनुपर्नेछ । दूतावासका अनुसार डेलिभरी शुल्क १५ दिराम र मूल्य अभिवृद्धि कर (भ्याट)सहित १५.७५ दिराम तोकिएको छ । यो सेवा स्वैच्छिक रहेको दूतावासले स्पष्ट पारेको छ । आवश्यक पर्ने सेवाग्राहीले मात्र उक्त सेवा उपयोग गर्न सक्नेछ । डेलिभरीको लागि सेवाग्राहीले महावाणिज्यदूतावासले उपलब्ध गराएको फारममा सही मोबाइल नम्बर र स्पष्ट ठेगाना टिपाउनु पर्नेछ ।


यो सेवाले दुबई र उत्तरी क्षेत्रमा रहने लाखौं नेपाली लाभान्वित हुनेछन् । करिव ७ लाख नेपाली रहेको यूएईमा दुबई र उत्तरी क्षेत्रमा करिव ५ लाख कार्यरत रहेको अनुमान छ ।