रुसी ड्रोन आक्रमणमा परी पाँच युक्रेनीको मृत्यु

Filre : A rescue worker clears the rubble of a house destroyed after a Russian strike on Kyiv, Ukraine, on Saturday, Dec. 27, 2025. (AP Photo/Evgeniy Maloletka)

किएभ, १९ चैत (रासस–एएफपी) । रूसले युक्रेनमा रातभर र बुधबार दिनभर सयौँ ड्रोन आक्रमण गरेको र आक्रमणका क्रममा कम्तिमा पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणबाट एउटा हुलाक कम्पनीको कार्यालय ध्वस्त भएको बताइएको छ। आक्रमणपछि युक्रेनको नोभा पोश्ता हुलाक कम्पनीले पश्चिमी शहर लुत्स्कको एक गोदाममा आगो लागेको र छतबाट बाक्लो धुवाँ निस्किरहेको तस्बिर प्रकाशित गरेको छ।

क्रेमलिनले इस्टरको बिदामा अस्थायी युद्धविरामका लागि युक्रेनी प्रस्तावलाई अस्वीकार गरेको भोलिपल्ट यो आक्रमण भएको हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेसबुकमा भने, “हामीले इस्टरका लागि युद्धविराम प्रस्ताव गरेका छौँ । जवाफमा, हामीले ‘शाहेद’को आक्रमण पाइरहेका छौँ। रूसले युक्रेनमा मङ्गलबार राति ३३९ र दिउसो ३६० भन्दा बढी ड्रोन प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ ।

मध्य चेर्कासी क्षेत्रमा रुसी ड्रोनले चार जनाको ज्यान लिएको छ भने युक्रेनको फ्रन्टलाइन खेरसोन क्षेत्रमा कारमा भएको ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । यसैबीच, रुसले सिमामा दबाब बढाएको छ र बुधबार पूर्वी युक्रेनका दुई गाउँहरू कब्जा गरेको र लुगान्स्क क्षेत्र पूर्ण रूपमा कब्जा गरेको दाबी गरेको छ । रूसी सेनाले पहिले नै यो क्षेत्रमा ठूलो मात्रामा गाउँहरू कब्जा गरिसकेको छ।

जेलेन्स्कीले एक छुट्टै सामाजिक सञ्जालमा गरेको पोस्टमा अग्रपङ्तीको लडाकू मोर्चाको स्थितिलाई ‘एकदम तनावपूर्ण’ अवस्थाको रूपमा वर्णन गरे । रूससँग इरानमा युद्धका कारण रोकिएका वार्ता पुनः सुरु गर्ने उद्देश्यले युक्रेनी नेता जेलेन्स्कीले बुधबार अबेर अमेरिकी दूतहरू स्टिभ विटकोफ र जारेड कुश्नरसँग भिडियो कल गर्ने बताइएको छ ।