लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

(260409) -- ZRARIYEH, April 9, 2026 (Xinhua) -- Photo taken on April 9, 2026 shows buildings destroyed by Israeli airstrikes in Zrariyeh, southern Lebanon. The death toll from Israel's Wednesday attacks across Lebanon has risen to 303, the Lebanese Health Ministry said Thursday. (Photo by Ali Hashisho/Xinhua)

संयुक्त राष्ट्रसङ्घ, २७ चैत (रासस–एएफपी) । लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका–इरानबीच हालै सहमति भएको नाजुक युद्धविरामलाई गम्भीर जोखिममा पारेको भन्दै संयुक्त राष्ट्रसङ्घले तीव्र चिन्ता व्यक्त गरेको छ । द्वन्द्व थप चर्किने सङ्केत देखिएपछि कूटनीतिक प्रयासहरू कमजोर बन्दै गएको मूल्याङ्कन गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्तामार्फत जारी वक्तव्यमा लेबनानमा जारी सैन्य गतिविधिले युद्धविराम मात्र नभइ, क्षेत्रीय स्थायित्व र दीर्घकालीन शान्ति स्थापनाका प्रयासहरूलाई समेत गम्भीर चुनौती दिएको उल्लेख गरिएको छ । महासचिवले सबै पक्षलाई तत्काल शत्रुता अन्त्य गरी वार्ताको बाटो रोज्न पुनः आह्वान गरेको प्रवक्ताले जनाए ।


लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार भएको इजरायली आक्रमणमा कम्तीमा १८२ जनाको ज्यान गएको छ भने ८९० जना घाइते भएका छन् । राजधानी बेरुत केन्द्रित यस बमबारीलाई इजरायल–हिजबुल्लाहबीचको हालको द्वन्द्व सुरु भएयताकै सबैभन्दा भीषण आक्रमण मानिएको छ । क्षेत्रीय तनाव अमेरिका–इरानबीचको टकरावसँग जोडिएर थप जटिल बनेको छ । इरान समर्थित समूहहरूले इजरायललाई निशाना बनाएपछि लेबनान पनि युद्धको घेरामा तानिएको हो । यसैबीच, इरान र संयुक्त राज्य अमेरिका दुई साताको युद्धविराममा सहमत भए पनि इजरायलले लेबनानमा भइरहेको सैन्य कारबाही उक्त सहमतिको हिस्सा नभएको स्पष्ट पारेको छ ।

हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि स्थिति थप तनावपूर्ण बनेको छ । इरानको संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबाफले समेत युद्धविराममाथि प्रश्न उठाउने अभिव्यक्ति दिएको देखिएको छ । संयुक्त राष्ट्रसङ्घले बढ्दो नागरिक हताहतीप्रति गहिरो दुःख व्यक्त गर्दै सर्वसाधारणमाथि भएको क्षतिको कडा निन्दा गरेको छ । “द्वन्द्वको कुनै सैन्य समाधान छैन”, भन्दै महासचिवले पुनः कूटनीतिक पहललाई प्राथमिकता दिन आग्रह गरेका छन् ।


यसअघि संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्क तथा अन्तर्राष्ट्रिय रेड क्रस समितिले लेबनानमा भएको व्यापक हत्या र विनाशलाई ‘भयावह’ भन्दै आलोचना गरेका थिए । टर्कले इरानसँग युद्धविराम सहमति भएको केही घण्टामै यस्तो हिंसा हुनु विश्वासमाथिको गम्भीर आघात भएको टिप्पणी गरेका थिए । उता, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि लेबनानलाई समेट्ने गरी व्यापक युद्धविरामको पहल गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।