विवादित टापुमा पुटिनको भ्रमणको जापानद्वारा विरोध

मस्को, २९ साउन (रासस–एएफपी) । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार रूसको सुदूर पूर्वी कुरिल टापुमा पहिलोपटक भ्रमण गरेका छन् । यसको जापानले विरोध जनाएको छ । जापानले पनि उक्त क्षेत्र आफ्नो भएको दाबी गर्छ । रूस–जापान सम्बन्ध लामो समयदेखि टापुका बिषयले विवादित छ । यसलाई जापानमा उत्तरी क्षेत्र भनिन्छ र यसलाई तत्कालिन सोभियत सङ्घले सन् १९४५ मा कब्जा गरेको थियो।

क्रेमलिनले कुरिलका चार मुख्य टापुमध्ये एकमा पुगेको पुटिनको भिडियो पोस्ट गरेको छ । रूसी सञ्चारमाध्यमका अनुसार उहाँले माछा प्रशोधन प्लान्टको भ्रमण गरेको बताएका छन् । यो २०१० मा दिमित्री मेदभेदेभपछि रूसली राष्ट्रपतिको पहिलो भ्रमण हो । “उत्तरी क्षेत्र ऐतिहासिक र अन्तर्राष्ट्रिय कानुन दुवै दृष्टिले जापानको अभिन्न भाग हो,” जापानी प्रधानमन्त्री सानाए ताकाइचीले पत्रकारहरूसँग भनिन् ।


“रूसी राष्ट्रपति पुटिनको भ्रमणले ‘जापानी जनताको भावना’लाई ठेस पु¥याएको छ र पूर्ण रूपमा अस्वीकार्य छ”, उनले भनिन्, “यसले ‘मध्यमदेखि दीर्घकालसम्म सम्बन्ध पुनस्र्थापना’ गर्न अझ कठिन बनाएको छ।” पुटिन बुधबार रूसी नौसेना अभ्यास गरिरहेको नजिकैको रूसी टापु साखालिन भ्रमण गरेपछि कुरिल गएका हुन् ।


राष्ट्रपति पुटिनको भ्रमणबारे रूसी समाचार संस्था ‘आरआईए नोभोस्ती’ले लेखेको छ, “साखालिनमा ७३ वर्षीय पुटिनले ‘रूसका पूर्वी सीमाको सुरक्षा सुनिश्चित गर्ने’ बैठक गरेका थिए । बिहीबार नै जापानका विदेशमन्त्री तोशिमित्सु मोटेगीले जापानका लागि रूसका राजदूत निकोलाई नोज्द्रेभलाई बोलाई पुटिनको आकस्मिक कदमविरुद्ध ‘कडा विरोध’ जनाएको छ।

मोटेगीले बैठकमा राजदूतलाई पुटिनको भ्रमणले ‘जापान–रूस सम्बन्धमा अत्यन्त नकारात्मक प्रभाव पार्ने’ बताएका थिए । जापानी मन्त्रालयको वक्तव्य अनुसार यसले मस्कोको युक्रेन आक्रमणले पहिले नै जटिल बनेको सम्बन्धलाई थप विवादमा पारेको छ ।

युक्रेन प्रतिबन्ध –

जापान र रूसले सन् १९०४ र सन् १९०५ मा युद्ध लडेका थिए । तर त्यसबीचको सम्बन्ध सन् २०२२ मा युक्रेनमा पूर्ण स्तरको द्वन्द्व सुरु भएयता बिग्रिएको छ । जापानले अन्य जी–७ देशहरूसँग मिलेर रूसमाथि प्रतिबन्ध लगाएको छ र किएभलाई पैसा तथा घातक नहुने रक्षा सहायता दिएको छ।
पुटिनले बुधबार जापानका प्रतिबन्धलाई ‘उत्तेजित नगरिएको’ भनी प्रतिक्रिया दिएका छन् ।


नेता पुटिनले भने, “जापानले रूसलाई खतराको मुख्य स्रोतका रूपमा पहिचान गरेको छ । म औँल्याउन चाहन्छु कि हामी जापानलाई धम्की दिइरहेका छैनौँ । यसले हाम्रो देशविरुद्ध क्षेत्रीय दाबी गरेको छ ।” रूस र चीन पनि नजिक आएका छन्, उनीहरूका नौसेना र वायुसेनाले जापान वरपरका क्षेत्रमा संयुक्त अभ्यास गर्दै जापानी युद्धक जेटहरूलाई बारम्बार उडान गर्नुपर्ने कारण निम्त्याएका छन्।

उत्तर कोरियाले यस महिना जापानको सैन्य निर्माणलाई ‘युद्ध राज्यमा रूपान्तरण’ भनेको छ र यसले पनि रूसलाई युक्रेनविरुद्धको युद्धमा सहयोग गर्न सैनिक र तोपखाना गोली पठाएको छ । जापानको यस महिना जारी पछिल्लो रक्षा श्वेतपत्रले फेरि तीनै देशबाट बढ्दो जोखिमलाई उजागर गरेको छ।

न्युयोर्क टाइम्सले जुलाईमा रिपोर्ट गरेको थियो,“रूसले जापानलाई ‘जासूसको अड्डा’ र युक्रेन युद्धका लागि आवश्यक दोहोरो प्रयोग प्रविधिको प्रमुख स्रोत बनाएको छ।”

–कठोर जलवायु, थोरै मानिस–

सोभियत सङ्घले दोस्रो विश्वयुद्धका अन्तिम दिनहरूमा होक्काइदो उत्तरको रणनीतिक रूपमा अवस्थित ज्वालामुखी द्वीपसमूह कब्जा गरेको थियो र त्यसबेलादेखि सैन्य उपस्थिति कायम राखेको छ। विवादित टापुहरू ज्वालामुखी कुरिल द्वीपसमूहको भाग हुन्, जुन रूसको कामच्यात्का प्रायद्वीपबाट जापानको मुख्य उत्तरी टापु होक्काइदोसम्म फैलिएको छ ।

लगभग २० हजार रूसी नागरिकको जनसङ्ख्या कठोर जलवायुमा रहेको यसै क्षेत्रमा बसोबास गर्छ तर टापुहरूमा सुन र चाँदीलगायत खनिजको भण्डार छ र यो माछा समृद्ध क्षेत्र हो । सन् १९४५ मा टापुहरू कब्जा भएपछि मस्कोले लगभग १७ हजार जापानी जनसङ्ख्यालाई निर्वासन गरेको थियो।

त्यसपछि टापुहरूले रणनीतिक महत्त्व पाए, शीतयुद्धका बेला सोभियत सङ्घले संयुक्त राज्य अमेरिका र जापानसँग सामना गर्दा वायु र समुद्री आधार उपलब्ध गराए। टोकियो विश्वविद्यालयको सार्वजनिक नीति स्नातक विद्यालयका प्राध्यापक यी कुआङ हेङले भने, “कुरिललाई बास्टियन तटीय रक्षा मिसाइल प्रणाली र एसयू–३५ लडाकु विमानले सुदृढ बनाइएको छ। यसले रूसलाई क्षेत्रका समुद्री मार्गमा नियन्त्रणका उपकरणका साथै टापुमा जापानको दाबीविरुद्ध शक्ति दिन्छ ।” नेता पुटिनको भ्रमण उनले बोकेका कार्डहरू र युक्रेन आक्रमणपछि जापानले रूसमाथि लगाएका निरन्तर प्रतिबन्धप्रति उनको असन्तुष्टिको सम्झना हुन सक्छ,” हेङले एएफपीसँग भने ।