सङ्गेको लगनको प्रतिफल : सामान्य बारिस्टाबाट प्रोफेसनल ब्रुअरसम्मको यात्रा

अबुधाबी । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा कार्यरत नेपाली युवा सङ्गे थिङले अन्तर्राष्ट्रिय क्राफ्ट बियर उद्योगमा उल्लेखनीय सफलता हासिल गरेका छन् । अबुधाबीस्थित Craft by Side Hustle मा ब्रुअरका रुपमा कार्यरत थिङ आफू यूएई तथा खाडी क्षेत्रका पहिलो नेपाली प्रोफेसनल क्राफ्ट बियर ब्रुअर भएको दाबी गर्छन् । आतिथ्य तथा पेय पदार्थ उद्योगमा उनको उपलब्धिलाई नेपाली युवाका लागि नयाँ सम्भावनाको उदाहरणका रुपमा हेरिएको छ ।


काठमाडौंको स्वयम्भूमा जन्मिएका थिङ सन् २०१७ मा १८ वर्षको उमेरमा रोजगारीका लागि यूएई आएका थिए । उनले दुबईको एक कफी घरमा जुनियर बारिस्टाका रुपमा आफ्नो व्यावसायिक यात्रा शुरु गरेका थिए । कफीप्रतिको रुचि, निरन्तर अभ्यास र सिक्ने इच्छाशक्तिका कारण उनले छोटो समयमै बारिस्टा क्षेत्रमा आफ्नो दक्षता विकास गरे ।


सन् २०१८–२०१९ मा उनले यूएईमा कार्यरत नेपाली कफी श्रमिकहरुसँग मिलेर ‘नेपाली बारिस्टा कम्युनिटी’ स्थापना गर्न महत्वपूर्ण भूमिका खेले । उक्त समूहले नेपाली बारिस्टाबीच सीप विकास, अनुभव आदान–प्रदान र व्यावसायिक सहकार्यलाई प्रवद्र्धन गर्दै आएको छ ।


पछि उनी स्पेशालिटी कफी शप सञ्चालनमा आबद्ध भए । त्यहाँ उनले नयाँ कफी तथा पेय पदार्थका रेसिपी विकास गर्नुका साथै हेड बारिस्टाको जिम्मेवारी पनि सम्हाले । त्यसपछि बार टेन्डिङ क्षेत्रमा प्रवेश गर्दै उनले स्पिरिट, वाइन, ककटेल र बियरसम्बन्धी अध्ययन तथा व्यावहारिक अनुभव हासिल गरे । यही अनुभवले उनलाई क्राफ्ट बियर उत्पादनतर्फ आकर्षित गरायो ।


त्यसपछि उनी अबुधाबीस्थित Craft by Side Hustle मा बार टेन्डरका रुपमा आबद्ध भए । बारमा कामसँगै ब्रुअरीको उत्पादनमा नयाँ प्रयोग र अनुसन्धान प्रक्रियामा सक्रिय रुपमा सहभागी हुँदै उनले ब्रुइङसम्बन्धी प्राविधिक ज्ञान हासिल गरे । उनको मेहनत, अनुशासन र सिकाइप्रतिको लगावबाट प्रभावित म्यानेजर ब्रुमास्टरले उनलाई पूर्णकालीन ब्रुइङ अप्रेन्टिसको अवसर प्रदान गरेका थिए ।


करिब एक वर्षको प्रशिक्षणपछि ब्रुमास्टर अमेरिका फर्किएपछि कम्पनीले सम्पूर्ण ब्रुइङ जिम्मेवारी थिङलाई सुम्पियो । उनले उत्पादनको गुणस्तर कायम राख्दै कम्पनीको विश्वास जितेका छन् । हालसम्म उनले १८० भन्दा बढी ब्याच क्राफ्ट बियरको उत्पादन प्रयोग गरिसकेका छन् भने ८० भन्दा बढी नयाँ बियर शैली र रेसिपी विकास गरेका छन् ।

उनले तयार गरेको ‘Himalayan Haze’ नेपाली समुदाय र मातृभूमि नेपालप्रति समर्पित विशेष क्राफ्ट बियरका रुपमा परिचित छ । थिङका अनुसार नेपाली युवाले परम्परागत रोजगारीमा मात्र सीमित नभई सीप, अध्ययन र निरन्तर अभ्यासका माध्यमबाट विश्व बजारमा नयाँ क्षेत्रको नेतृत्वसमेत गर्न सक्छन् । सामान्य बारिस्टाबाट अन्तर्राष्ट्रिय स्तरका प्रोफेसनल ब्रुअरसम्मको उनको यात्रा मेहनत, लगन र व्यावसायिक दक्षताको प्रेरणादायी उदाहरण बनेको छ ।