सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ : पूर्वप्रधानमन्त्री देउवा


काठमाडौँ, २९ साउनः नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताका दैनिकी समस्या समाधान गरी जनतामा आशा जगाउनुपर्ने बताएका छन् । कांग्रेसको संस्थापन पक्षइतरको आजदेखि यहाँ सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनतामा देखिएका निराशाा आशामा बदल्न कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गरे ।


पूर्वप्रधानमन्त्री देउवाले मुलुकको अवस्था अहिले संवेदशील देखिएको बताउँदै सबै सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । मुलुकको इतिहास सबै लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा नै सफल भएको र त्यसमा पुर्खा र अग्रजहरूले भोगेको कठिनाइ र सङ्घर्षलाई कसैले पनि बिर्सन नहुने उनले उल्लेख गरे ।


तिनै परिवर्तनले नै जनताका मौलिक हक प्राप्त भएका र यसमा कांग्रेसीजनहरूले गर्व गर्नुपर्ने उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री देउवाले मुलुकका हरेक परिवर्तनमा प्रायः सबै दलबीच एकता हुने गरेको र त्यो नेपालको मौलिकपन भएको बताए ।


उनले लामो गौरवमय इतिहास भएको कांग्रेसमा विशेष महाविधेशनले हाल कमजोर बनाउने काम भएको उल्लेख गर्दै सर्वोच्च अदालतबाट न्याय हुने अपेक्षा गरे । चार पुस्ता भएको कांग्रेसमा असहमतिलाई कम गर्न सबैलाई न्याय हुनेगरी अघि बढ्न सबै लाग्नुपर्नेमा उनको जोड थियो । पूर्वप्रधानमन्त्री देउवाले संविधानप्रदत्त अधिकारको संरक्षण, राष्ट्रिय सहमति र जनताका हितका लागि काम गर्न आफू सदैव तयार रहेको बताए ।

राष्ट्रियता, समाजवाद र लोकतन्त्र आफ्नो जीवनको मूल आदर्श भएको बताउँदै उनले यसमा आफूले कहिल्यै पनि सम्झौता नगरेको बताए । साथै उनले गणतन्त्र संस्थागत गर्न सबै लाग्नुपर्नेमा जोड दिए । उनले आफू पाँच महिनापछि स्वास्थ्योपचार गरेर हिजोमात्र फर्केको र स्वागतका लागि विमानस्थलमा ठूलो सङ्ख्यामा आएका नेता, कार्यकर्ताप्रति आभार व्यक्त गरे ।