न्युयोर्क
कोरोना महामारीले एकै पटक अत्याएको न्युयोर्क शहरका बिरामीको सहज उपचारको लागि गत महिना न्युयोर्क सहरमा ल्याइएको अमेरिकी सेनाको “कम्फर्ट शिप” नामक अस्पताल जहाज बिहीवार बिहान न्युयोर्कबाट फर्किएको छ । गत मार्च ३० तारिख म्यानह्याटनस्थित हड्सन रिभरको पियर ९० मा राखेर बिरामीको उपचार गरिएको अमेरिकी सेनाको उक्त जहाजलाई न्युयोर्क सहरबाट फर्किनु अगाडि न्युयोर्क प्रहरी र अग्नी नियन्त्रक टोलीले सलामी दिएका थिए ।
एक हजार बेड क्षमताको उक्त जहाजमा १८२ जना बिरामीको उपचार गरेर गत आइतबार अन्तिम बिरामीलाई उपचार पछि डिस्चार्ज गरिएको थियो । न्युयोर्कबाट फर्किए पछि उक्त अस्पताल जहाज भर्जिनियास्थित नर्फकमा राखिने र सम्भावित आवश्यकतालाई मध्य नजार गरी मेडिकल टिम सहित पूर्ण तयारीमा राखिने सैनिक मुख्यालयका प्रबक्ता जोनाथन हफम्यानले संचार माध्यमलाई बताएका छन् । हफम्यान भन्छन् – “कोरोनाले सबैभन्दा धेरै प्रभावित शहरबाट जहाज फर्किनुले न्युयोर्कमा कोरोना संक्रमण घटेको संकेत गरेको छ । यो स्वागतयोग्य पनि हो” ।
कोरोना महामारीका कारण सुरुमा न्युयोर्कका अस्पातलमा बिरामीको चाप एकाएक ह्वातै बृद्धि भएपछि कोरोना बाहेकका बिरामीको सुरक्षित उपचारको लागि जहाजलाई न्युयोर्कमा ल्याईए पनि गत अप्रिल ६ देखि भने कोरोना संक्रमित केही बिरामी समेत उपचार गरिएको थियो ।