नेपालगञ्ज । नेपालमा कोरोना भाइरसको हटस्पट बनेको बाँकेको नेपालगञ्जमा आज मात्र सात जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
अब नेपालमा कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिको संख्या ८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको हो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का सात जनामा कोरोना पुटी भएको हो । मन्त्रालयका अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमण भएको छ ।
मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।
सबैको स्वास्थ्य भने सामान्य रहेको छ । बाँकेमा आइतबार एकैदिन १५ जना संक्रमित फेला परेका थिए ।
संक्रमितको संख्या बढेर जोखिम उत्पन्न भएपछि अहिले नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यो घोषणा तीन दिनसम्म कायम रहने छ । उता, कर्णाली प्रदेशले समेत आजबाट सीमा नाका सील गरेको छ ।