काठमाडौं । नेपालमा लकडाउन शुरु भएपछि अत्यावश्यक बाहेक अन्य सबै प्रकारको आयात निर्यात रोकिएको छ ।
औषधिजन्य जदार्थ र खाद्यान्नको आयात रोकिएको छैन । तर, अन्य विलासिताका सामान र अत्यावश्क बाहेकका सामानको आयात भने रोकिएको छ ।
जसले गर्दा सीमा नाकामा आइपुगेका हजारौं ट्रक सामान नेपाल भित्रने पर्खाइको रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
लकडाउन शुरु भएयता ७ सय ट्रक सामान नेपाल भित्रिएको छ । नेपालमा ११ चैतमा लकडाउन शुरु भएको हो ।
वीरगञ्ज एकीकृत जाँचचौकीबाट २५६ ट्रक भित्रिएका छन् । यसबीचमा २४७ ट्रक बाहिरिएको तथ्यांक रहेको छ । ७१७ ट्रक भने यहाँ रोकिएका छन्।
वीरगञ्ज सुख्खा बन्दरगाहबाट १८० ट्रक भित्रिएका थिए । ११२ ट्रक बाहिरिएका छन् । दुई हजार ९४६ ट्रक भने यहाँ रोकिएका छन्।
भैरहवा नाकाबाट ७९ ट्रक भित्रिएका छन् । १३६ ट्रक बाहिरिएको तथ्यांक छ । यहाँ २४९ ट्रक रोकिएका छन्।
विराटनगर एकीकृत जाचँचौकीमा १४६ ट्रक भित्रिएको, १०५ ट्रक बाहिरिएको र १५४ ट्रक उतै रोकिएको तथ्यांक छ । विराटनगर सुख्खा बन्दरगाहमा चार ट्रक र काँकरभिट्टा नाकामा २३ गरी २७ ट्रक रोकिएका छन्।
लकडाउन शुरु भएपछिको ४० औैँ दिनमा करीब पौने तीन अर्ब बराबरको तयारी औषधि आयात भएको समेत मन्त्रालयले जानकारी दिएको छ ।
तथ्यांकअनुसार लकडाउनपछि एक अर्ब ६९ करोड ५४ लाख ४८ हजार बराबरको तयारी औषधि र ३४ करोड १९ लाख ७८ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको हो ।
यसबीचमा एक लाख २३ हजार ६२७ मेट्रिक टन खाद्यान्न, ३५ हजार १३१ मेट्रिक टन दलहन, ५२ हजार ४७९ मेट्रिक टन तरकारी, १६ हजार ८६२ मेट्रिक टन फलफूल र ११ हजार ५९ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ।