एकैपटक डिस्चार्ज भए ६ कोरोना संक्रमित

फाइलफोटो

विराटनगर । नेपालमा ६ जना कोरोना संक्रमित बिरामी एकै पटक डिस्चार्ज भएका छन् ।

कोरोना भाइरस पुष्टी भएपछि विराटनगरस्थित कोशी अस्पतालको कोरोना विशेष कक्षमा उपचार गराइरहेका ६ जनाको आज डिस्चार्ज भएको हो ।

उदयरपुरमा रहेका बेला कोरोना पुष्टी भएका उनीहरु सबै जना भारतीय नागरिक हुन् ।

लगातार तीन पटकको परीक्षण नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको हो । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे उनीहरुलाई अस्पतालबाट बिदा गर्न परिसरमै पुगेका थिए ।

नेपालमा निको भएका केही मानिसमा पुनः संक्रमण दोहोरिएको छ । सोहीकारण उनीहरुलाई समेत १४ दिनसम्म क्वारेन्टाइनमै राखिने भएको छ ।

उनीहरुले विराटनगर छाड्न पाउने छैनन् । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुमध्ये कै ६ जना डिस्चार्ज भएका हुन् ।

विराटनगरको कोरोना विशेष अस्पतालमा कूल ३१ जना संक्रमित भर्ना भएका थिए । त्यसमध्ये उदयपुरमा पुष्टि भएका मात्र २८ जना, दुईजना झापा र एक जना भोजपुरका बिरामी हुन् । यससँगै नेपालमा डिस्चार्ज हुने संक्रमितको संख्या २२ पुगेको छ ।