काठमाडौं । रोल्पा र पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । बिहीबार भएका छुट्टाछुट्टै घटनामा तीन जनाले ज्यान गुमाएको प्रहरीको भनाई छ ।
रोल्पामा लुंग्री गाउँपालिका २ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको ज्यान गएको हो ।
बिहान करिब साढे ८ बजे विकको घर नजिकैको रुखमा चट्याङ पर्दा उनीहरुलाई समेत असर गरेको बताइएको छ । उनीहरु दुवै जना छिमेकी हुन् ।
बिहीबार नै चट्याङ लागेर पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ पाँडेपुरमा एक बालिकाको ज्यान गएको छ ।
मृत्यु हुनेमा स्थानीय राजु साहकी ६ वर्षीया छोरी उषाकुमारी साह रहेको प्रहरीले जनाएको छ । बिहीबार देशैभर मौसम प्रतिकुल बनेको थियो ।
नेपाल बढी चट्याङ लाग्ने देशमध्ये विश्वमै अग्रपंक्तिमा आउने गरेको छ ।