काठमाडौं । बजेट अधिवेशन शुरु भएको छ । कोरोना भाइरसको त्रासका बीच पूर्ण सृुरक्षा सचेतना अपनाएर शुक्रबारबाट संसदको अधिवेशन प्रारम्भ भएको हो ।
बजेट अधिवेशनको पहिलो दिन नेताहरुले आफ्नो धारणा राखे । त्यसक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने बताए ।
उनले जीर्ण शरीरलाई आराम दिन समेत प्रधानमन्त्री समक्ष अपिल गरे ।
उनले संसदमा प्रधानमन्त्रीले केही दिन अगाडी गरेको हर्कतको प्रसंग निकाल्दै दल फुटाउने र संवैधानिक परिषद्मा विपक्षी दलको नेता नभए पनि निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको अध्यादेशको विरोध गरे ।
उनले यस कदमलाई लोकतन्त्रविरोधी हर्कतको समेत संज्ञा दिए ।
सांसद अपहरण काण्डमा समेत प्रधानमन्त्री वा निकटस्थ संलग्न भएको प्रसंग निकाल्दै उनीहरु विरुद्ध प्रहरीले जाहेरी नलिन गलत भएको उनको भनाई छ ।
प्रधानमन्त्रीबाट लोकतन्त्रविरोधी खालका गम्भीर गतिविधि भइरहेको उनको भनाई छ ।
उनले नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री समक्ष आग्रह गरेका हुन् ।
उनले ६०, ६५ वर्ष उमेर कटेका व्यक्ति प्रत्यक्ष कार्यकारीको भूमिकामा नरहने, प्रधानमन्त्रीको दाबेदार नबन्ने र हामीले नयाँ पुस्तालाई अगाडि ल्याउने दिशातिर गयौं भने देशले निकास पाउने भन्दै उनले युवापुस्तालाई अवसर दिने वातावरण बनाउनु पर्ने समेत उल्लेख गरे ।