काठमाडौं । सडकमा सवारी चाप बढ्न थालेसँगै गृह प्रशासनले आइतबारदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू गरेको छ ।
अब तोकिएको समयमा तोकिएको संस्थाका सवारी साधनले मात्र गुड्न पाउन भएका छन् । त्यसबाहेक अन्य समयमा गुडेको पाइए कारवाही हुने भएको छ ।
जुनसुकै कार्यालय वा संस्थाका सवारी साधन तोकेको समयमा मात्र चलाउन पाउने गरी टाइम कार्ड तोकिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबार काठमाडौं उपत्यकाका सिडिओ, सुरक्षा निकायका डिआइजी र महाशाखाबीच भएको बैठकले यस्तो निर्णय गरेको छ ।
जसले गृह मन्त्रालयबाट समेत स्वीकृति मिलेको हो । नयाँ नियम अनुसार सरकारी कार्यालयलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म र घर फर्कन बेलुकी ५ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको छ ।
यस अवधिमा मात्र सरकारी कर्मचारीले तोकिएको सवारी साधन चलाउनु पर्नेछ । तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभन्दा अगाडी नै ढुवानी भ्याउनु पर्छ ।
बैंक, वित्तीय संस्था बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्ने गरी नियम बनाइएको छ ।
त्यसबाहेकका समयमा निस्कन परेमा भने प्रहरीको अनुमति आवश्यक पर्ने भएको छ ।
खुलेका संस्थाले समेत सामाजिक दुरी कायम गरेर मात्र सेवा प्रदान गर्नुपर्ने नियम छ ।