काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट भइरहेको नेपाली भूमि अतिक्रमण विरुद्ध एक्सनमै जानुपर्ने धारणा राखेका छन् ।
त्यसका लागि सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्ने उनको सुझाव छ । दार्चुलामा भारतले नेपालको भूमि मिचेर सडक निर्माण गरेपछि नेपालमा बहस व्यापक भएको छ ।
यसै सन्दर्भमा आइतबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका प्रचण्डले सरकारले दिने वक्तव्यले मात्र सबै जिम्मेवारी पुरा नहुने स्पष्ट पारे ।
उनले चिठी नीतिगत, सैद्धान्तिक र भावनात्मक रुपमा ठीक भएपनि अब एक्सन पनि ठिक तरिकाले लिनु पर्ने सुझाव दिए ।
उनीभन्दा अगाडी बोलेका सांसदले सरकारले चिठी र वक्तब्य मात्र निकाल्ने तर, काम गर्न नसक्ने आरोप लगाएका थिए ।
प्रचण्डले एक्सन आवश्यक रहेको विषयमा आफू सहमत रहेको उल्लेख गरे । उनले लिपुलेक तथा जहाँजहाँको सीमामा विवाद छ त्यो विषयमा भारत र चीन दुवै देशसँग छलफल गरिएको समेत उल्लेख गरे ।
लिपुलेकको विषय भने भारत र चीनको सम्झौताका आधारमा भएको भन्दै यो त्रिदेशिय मुद्दा भएको समेत उनले उल्लेख गरे ।
यो समस्या तीन वटै मुलुक मिलेर गर्नुपर्नेमा उनको जोड छ । प्रचण्डले यो विषयलाई अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषयमा भने सोच्नुपर्ने बताए।
यो विषय सामान्य नभएको र भारतले पटक पटक नक्सा प्रकाशित गर्दा लिपुलेक, लिम्पियाधुरा आफ्नो नक्सामा पारेको विषयलाई समेत हिसाब गर्नुपर्ने उनको भनाई छ ।