काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार तीन जना नयाँ संक्रमित देखिए । यसअघि उपत्यका कोरोना मुक्त थियो । उपत्यका भित्र भक्तपुरमा दुई र काठमाडौंमा एक जनामा कोरोना भेटिएको हो ।
भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरीमा कार्यरत जवान रहेको पुष्टी भएको छ । उनी पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिने प्रहरी जवान रहेको बताइएको छ ।
यद्दपी यसको पुष्टी प्रहरी स्रोतले भने गरिसकेको छैन । भक्तपुरमा अर्को संक्रमित भने स्टाफ नर्स हुन् ।
२७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा खटिने अस्पताल स्रोतले बताएको छ ।
उनको बारेमा विस्तृत बुझ्ने काम भइरहेको बताइएको छ उनको स्थायी घर रामेछाप हो । उता, अर्की संक्रमित २५ वर्षीय स्टाफ नर्स रहेको अस्पतालले जनाएको छ ।
उनी भक्तपुरको एक निजी अस्पतालमा काम गछिन् । उनी अर्की स्टाफ नर्सको डेरमा सँगै बस्ने बुझिएको छ ।
उनी सुनसरीको रामधुनी नपा झुम्काकी स्थायी बासिन्दा रहेको बताइएको छ । उनी केही दिन अगाडी सरकारी पास लिएर सुनसरी पुगेर भक्तपुर फर्किएको पाइएको छ ।
सुनसरीबाट फर्किएपछि उनी स्वयम टेकु अस्पताल पुगेर कोरोना जाँच गरेकी थिइन् ।
जसमा पोजेटिभ नतिजा आएको छ । यता, काठमाडौंमा भने चन्द्रागिरि नगरपालिकामा एक महिलामा कोरोना देखिएको छ । उनमा कसरी कोरोना देखियो भन्ने अनुसन्धान जारी रहेको बताइएको छ ।