आज दार्चुलामा नेपाली फौजको पोष्ट स्थापना हुँदै

काठमाडौं । भारतीय अतिक्रमणमा परेको लिपुलेक नजिकै आज नेपाली फौजको एक टोली खट्ने भएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंबाट टोली दार्चुलातर्फ लागिसकेको छ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली आजबाट फिल्डमा खट्ने भएको छ ।

यो क्षेत्र भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १०–१२ किलोमिटर नेपालतर्फ पर्ने गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौंबाट बन्दोबस्ती, खाद्यान्न र हातहतियारसहित उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरले छाङरूमा पुर्याउने कार्यक्रम रहेको छ ।

बुधबार बिहान गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापालगायत टोली यस भेगतर्फ लागिसकेको प्रहरीले जनाएको छ ।

छाङरूसम्म पुग्ने मोटर बाटो छैन । त्यसकारण टोलीलाई सेनाको हेलिकोप्टरले उक्त स्थानसम्म लैजाने छ ।

सशस्त्रको टोली राख्न छाङरूमा एउटा घर भाडामा लिइएको छ ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि सरकारमाथि नेपाली फौज राख्ने दवाव बढेको हो ।