काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विवादबारे सर्वदलीय बैठक आह्वान गरेका छन् ।
साँझ बसेको बैठकले भारतले नेपालको भूमि अतिक्रमण गरी सडक बनाएको निष्कर्ष निकालिएको छ ।
नेताहरुका अनुसार भारतले नेपालको भूमि मिचेकोमा दुई मत नरहेको निष्कर्षमा सर्वदलीय बैठक पुगेको छ ।
बैठक बुधबार साँझ बालुवाटारमा बसेको थियो । लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमिमा सडक निर्माण गरेको ठहरसहित त्यहाँबाट उसलाई फिर्ता पठाउन सरकारले सबै किसिमका पहल गर्नुपर्ने ठहर सर्वदलीय बैठकले गरेको हो ।
बैठकले लिम्पियाधुरास्थित काली नदीको मूहानयताको भूभाग नेपालकै भएको निचोडसहित बैठकले सरकारलाई दह्रोसँग खुट्टा टेक्न आग्रह गरेको छ ।
लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरेको छ । त्यो सडक नेपालकै भूमिमा रहेको ठहर बैठकले गरेको हो ।
नेताहरुले सरकारलाई बलियोसँग कूटनीतिक पहलका लागि आग्रह गरेका छन् ।
राप्रपाका एकजना अध्यक्ष प्रकाशचन्द्र लोहनीका अनुसार लिम्पियाधुरायताको भूभाग नेपालको भएको भन्दै प्रधानमन्त्रीलाई जनताको विश्वाससहित अघि बढ्न सुझाव दिइएको जानकारी दिए ।
अहिले भइरहेका पहल र प्रयत्न पर्याप्त नरहेको नेताहरुको भनाई थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्रीले आफ्नो भूमि कुनै हालतमा नछाड्ने अडान बैठकमा राखेका थिए ।
बैठकमा प्रधानमन्त्रीले भारतले अहिलेसम्म वार्ता गर्न नचाहेको जानकारी गराएका थिए ।
तर, भारतले वार्ता नगरी सुख नपाउने उनले बताएका थिए । बैठकमा प्रधानमन्त्री ओलीले पुर्खाले लडेर बचाएको नेपाललाई अब अडेर बचाउनु पर्ने उनले बताए ।