आजबाट लकडाउनमा कडाई, यस्तो छ नयाँ नियम

काठमाडौं । आजबाट लकडाउन कार्यान्वयनमा सरकार कडा बन्ने भएको छ ।

सरकारले १ जेठबाट लकडाउनमा कडाई गर्ने नीति अनुसार कार्यान्वयनमा थाल्ने भएको छ ।

मंगलबार र बुधबार लगातार करीव १ सय जनामा कोरोना देखिएपछि सरकारले देशभर लकडाउन कडा बनाउने नीति लिएको छ ।

त्यसअनुसार अब एक जिल्लाबाट अर्को जिल्लामा जान जारी भएका सबै पास रद्द भएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा कोभिड १९ रोकथामसम्बन्धी संयन्त्रमा रहेका मन्त्रीहरुसँग लकडाउन किन खुकुलो पारेको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।

सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइएको छ ।

अत्यावश्यक सेवाका लागि प्रस्थान र पुग्ने दुवै जिल्लाका सिडिओको अनुमति लिनुपर्ने नियम जारी भएको छ ।

अब काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने गृह मन्त्रालयले जनाएको छ । उपत्यकामा तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको मान्यता दिइएको छ ।

औचित्यका आधारमा प्रमुख जिल्ला अधिकारीले पास वितरण गर्ने भएका छन् ।

कार्यालयको परिचयपत्रको भरमा भने सडकमा निस्कन नपाइने नियम ल्याइएको छ । समुदायमा कोरोना भाइरस पुगेका कारण सरकारले लकडाउन फेरी कडा गर्न लागेको हो ।