बुढानीलकण्ठस्थित सरकारी बिद्यालय यज्ञमती माबिले गर्‍यो यस्तो सराहनीय सेवा

सुदर्शन केसी, काठमाडौं

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ पैयाटारस्थित यज्ञमती माद्यामिक बिद्यालयका थप २० अभिभावकलाई शुक्रबार राहत वितरण गरियो । पैयाटार युथ क्लबको पहलमा विद्यालय व्यवस्थापन समिति , अभिभावक शिक्षक संघ, विद्यालय शिक्षक संघ, स्थानीय समाजसेवीहरुको सहयोग तथा वडा कार्यालयको समन्वयमा विद्यालयका अभिभावकलाई राहत वितरण गरिएको पैयाटार युथ क्लबका अध्यक्ष राजन कार्कीले बताए । क्लबका सचिब पल्लभ पौडेलले दिएको जानकारी अनुसार स्थानीय समाजसेवीहरु मार्फत रुपैंया एक लाख छयहत्तर हजार छ सय पचहत्तर संकलन भएको थियो । करिब चार सय विद्यार्थी रहेको उक्त विद्यालयमा यस अगाडि ८० परिवार र शुक्रबार थप २० परिवार गरि जम्मा १०० परिवारलाई राहत वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मुकुन्द बुढाथोकीले बताए । लकडाउनका कारण खाद्यान्न अभावले संकटमा परेका  विद्यालयका अभिभावक पहिचान गरि प्रति परिवारलाई ३० के जी चामल, १ के जी दाल, १ के जी नुन र आधा लिटर तेल प्रदान गरिएको उक्त अभियानका एक जना समाजसेवी दुर्गा भन्डारीले बताए । बु.न.पा. वडा न. ११ का वडा सद्स्य तथा सोही विद्यालयकको पुर्व विद्यार्थी साथै राहत संकलन  तथा वितरण अभियानमा समेत सम्लग्न  बिमल लामा राहत बितरण बारे भन्छन्; “यसरी १०० परिवारलाई राहत दिदा करिब १५० विद्यार्थीको  केही दिनको  भोजन  टर्नेछ” ।

उक्त विद्यालयमा एउटै परिवारका तीन-चार जना समेत विद्यार्थी अध्ययन गर्ने गर्दछ्न । आर्थिक अबस्था राम्रो नभएर सरकारी विद्यालयमा आफ्ना  बच्चाहरु पढाए भए पनि यज्ञमती माबिको शिक्षाको स्तर कुनै महँगो प्राईभेट बिद्यालयको भन्दा कम नभएको भन्दै यस्तो अप्ठेरो अवस्थामा हामी जस्ता बिपन्नलाई बिद्यालयले नै राहत सहयोग गर्नु यज्ञमतीको ठुलो योगदान भएको एक अभिभाबकले प्रतिकृया दिए ।

बिद्यालय प्रशासनले राहत बितरण गर्दा बर्तमान अवस्थामा खाध्य संकटमा परेका सबै अभिभाबक भन्दा पनि काठमाडौ जिल्ला भित्र आफ्नै घर नभएका र डेरामा बसोबास गर्दै आई खाध्य संकटको चपेटामा परेका अभिभाबक पहिचान गरी राहत बितरण गरेको जनाएको छ ।