न्युयोर्क
कोरोना भाईरसको उद्गमस्थल चीनले कोरोना संक्रमितको अधिकारिक संख्या हालसम्म ८४ हजार २९ भएको जनाए पनि, लाखौं संक्रमितको संख्या चीनले लुकाएर थोरै संख्या देखाएको एक समाचार सार्वजनिक भएको छ । चीनको चाङ्सास्थित सैनिक शिक्षालय, नेशनल युभर्सिटी अफ डिफेन्स टेक्नोलोजीबाट चुहिएको एक डाटाबेसका अनुसार चीनमा हालसम्म ६ लाख ४० हजार मानिस कोरोना संक्रमित भएको जनाईएको हो । कोरोना संक्रमणको बारेमा चीनस्थित सेनाले तयार पारेको उक्त अभिलेख नाम गोप्य राख्ने सर्तमा संचार संस्था फरेन पोलिसी र १०० रिपोर्टर्सले हात पारेको जनाएको छ ।
नेशनल युनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीबाट प्राप्त अभिलेखमा पूर्ण विवरण नभए पनि अभिलेखमा थुप्रै कुरा भएको फरेन पोलिसीले जनाएको छ । गोप्य अभिलेखको हवाला दिदै फरेन पोलिसीले भनेको छ; “चिनमा हालसम्म ६ लाख ४० हजार संक्रमित भएको र संक्रमण युहानमा मात्र नभई २ सय ३० वटा शहरमा फैलिएको छ” । यध्यपी फरेन पोलिसी र १०० रिपोटर्सले प्राप्त गरेको उक्त गोप्य अभिलेखको बारेमा विश्व स्वास्थ संगठनले जानकारी नभएको भन्दै कुनै प्रतिकृया दिएको छैन ।