नेपालगन्ज । आज एकै दिन सर्वाधिक बिरामी डिस्चार्ज हुने भएका छन् । नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनालाई डिस्चार्जको तयारी गरिएको नेपालको सरकारी समाचार संस्था राससले उल्लेख गरेको छ ।
राससका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जनाले कोरोनालाइ जितेका छन् ।
उनीहरु खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका छन् ।
लगातार दोस्रो परिक्षण पनि नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाइने छ ।
सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरुलगायत २५ जना संक्रमितलाई राखी उपचार भइरहेको छ । अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब सङ्कलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो । यस शहरमा अहिले सङ्क्रमित १०१ पुगेका छन् ।
बाँकेमा बिहीबार भने दुई जना नयाँ सङ्क्रमित थपिएका छन ।