काठमाडौं । कोरोना कहरका बीच साउदी अरवमा ७ जना नेपालीको यस भाइरसका कारण निधन भएको छ । यस मुलुकमा कोरोना संक्रमित नेपालीको संख्या एक हजार ३ सय ६४ पुगेको त्यहास्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् । उनीहरुमध्ये १७ जना महिला छन् । जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना संक्रमित भएको तथ्यांक छ ।
साउदी अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने समेत उत्तिकै छन् । कोरोनाको संक्रमण भएकासँग टेलिफोन सम्पर्कमा रहनेलाई उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गर्न समेत दूतावासले आग्रह गरेको छ ।
रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य जाँच गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले आग्रह गरेको हो ।
कोरोनाबाट समस्यामा परेका नेपालीहरूको विवरण सङ्कलन गर्न नेपाली राजदूतावासले जेष्ठ १ गतेदेखि अनलाइन फारम समेत सार्वजनिक गरेको छ ।
उक्त फारम नेपाली राजदूतावासको वेबसाइटमा गई भर्न सकिन्छ । यसअघि टेलिफोन, ह्वाट्सएप तथा इमेलबाट आफ्नो विवरण टिपाएकाले फारम भर्न नपर्ने दुतावासले उल्लेख गरेको छ । कोरोना कहरका बीच घर फर्कन चाहने धेरै नेपाली रहेको मुलुकमध्ये साउदी पनि एक हो ।