काठमाडौं । नेपालमा पहिलो पटक सार्वजनिक स्थलमा स्मार्ट पार्किङ प्रणाली शुरु हुँदैछ । आइतबारबाट संचालनमा आउने स्मार्ट पार्किङमा घरमै बसि बसि आफ्नो सवारी साधनको लागि उपयुक्त स्लट घरबाटै बुकिङ गर्न सकिने भएको छ ।
काठमाडौंको न्यूरोडमा स्मार्ट पार्किङ संचालनमा आउन लागेको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा स्मार्ट पार्किङ सेवा शुरु गर्दैछ ।
व्हिल्स ट्रुली योर्स प्रालिले यस अभियानमा महानगरसँग सहकार्य गरेको हो । न्युरोडको रामेश्वर मिठाई पछाडि, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन लागेको हो ।
स्मार्ट पार्किङ स्टेशनमा एकपटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा कार पार्किङ गर्न मिल्छ । स्मार्ट अटोमेटेड पार्किङ सिस्टमबाट यी पार्किङ स्लट संचालन हुने भएका छन् ।
उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्ने महानगरले जानकारी दिएको छ ।
ठाउँ रिजर्भ नगरी पुग्ने सवारी चालकले भने स्कृनमा हेरेर जुन स्लट खाली छ, त्यही पार्किङ गर्नुपर्छ । सेवाका लागि ‘केएमसी पार्किङ’ नामका एप एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले जानकारी दिएको छ ।