लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा कोरोना संक्रमित नघट्नुको कारण खोजी गर्दै सिडिसि

न्युयोर्क

व्हाईट हाऊस कोरोना भाईरस टास्क फोर्सले अमेरिकास्थित “सेन्टर फर डिजिज कन्ट्रोल”  लाई लस एन्जलस, शिकागो र वासिङ्टन  डिसिमा कोरोना संक्रमित नघट्नुको के कारण हुन सक्छ ? अनुसन्धान गर्न भनेको छ । सहरहरु “सट डाऊन’ हुँदा हुँदै पनि लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा संक्रमितको दैनिक संख्या नघट्नु चासोको बिषय भएको टास्क फोर्स संयोजक डा. डेबोरा ब्रक्सले शुक्रबार बताएकी छिन् ।  शुक्रबार डा. ब्रक्सले प्रेस ब्रिफिङमा भनिन्; “वासिङ्टन डिसि बन्द छ । लस एन्जलस बन्द छ । सिकागो बन्द छ र पनि हामी देख्दै छौं कि संक्रमितको संख्यामा बृद्धि भै रहेको छ” । उनले थप प्रस्ट पार्दै भनिन् ‘मैले सिडिसिलाई भनि सकेको छु र सिडिसिले स्थानीय क्षेत्रसँग मिलेर पत्ता लगाउन सुरु गरिसकेको छ कि, त्यो नयाँ संक्रमण कताबाट भै रहेको छ र भविष्यमा रोक्नको लागि कसरी काम गर्न सकिन्छ ? भनेर ” 

डा. ब्रक्सले शुक्रबार न्युयोर्क, डेट्रोईट, बोस्टन, एट्लान्टा र मायामीमा नाटकीय रुपमा संक्रमित घटेको समेत बताएकी छिन् ।