न्युयोर्क
न्युयोर्क प्रहरीले आईतबार क्वीन्स र म्यानह्याटनको फरक फरक ठाँऊबाट दुई वटा मानव मृत शरीर फेला पारेको छ । ती दुबै लास प्रहरीले पानीबाट तानेको हो । प्रहरीले एउटा लास फार रकवेस्थित रकवे प्वाईन्ट याट क्लबका पानीबाट पन्छिएर रहेको अवस्थामा किनारामा फेला पारेको हो । प्रहरीका अनुसार आईतबार ११ बजे बिहान २०१ स्ट्रिट र ब्रिजी प्वाईन्ट नजिक मृत शरीर फेला परेको हो ।
आईतबार नै प्रहरीले जर्ज वासिङ्टन ब्रिजबाट आधा माईल उत्तर तर्फ खोला किनारामा अन्दाजी ६० बर्ष उमेरको अर्को मृत शरीर फेला पारेको जनाएको छ । प्रहरीले ती मानिसहरुको मृत्यु कसरी भएको हो, अनुसन्धान गरिने बताएको छ ।
प्रहरीका अनुसार हरेक बर्ष स्प्रिङ्ग सिजनमा खोलाको पानीको तापक्रम बढदै जाँदा मृत शरीर भित्रको तापक्रम पनि बढ्दै जान्छ र पानीमा डुबेको लास सतहमा उत्रिने गर्दछ । यो बर्ष प्रहरीले ईस्ट रिभर र बेरिज नजिकको पानीबाट ८ वटा मृत शरिर निकाली सकेको जनाएको छ । प्रहरीले सन् २०१० को स्प्रिङ्ग सिजनमा २६ वटा लास पानीबाट निकालेको बताएको छ ।