भक्तपुरमा टिपरको ठक्करले एक प्रहरी अधिकृतको ज्यान गएको छ । टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक (सइ) निमबहादुर घर्ती मगरको ज्यान गएको हो ।
टिपरको ठक्करले गम्भीर घाइते उनको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।
काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४७०१ नम्बरको खाली टिपर र बा ४ ख ४३१८ नम्बरको टिपर अन्यन्त्रित भई एक आपसमा ठोक्किँदा ड्युटीमा खटिएका प्रहरीलाई समेत लागेको थियो ।
प्रहरीले टिपरका चालक धादिङ थाक्रे बस्ने ४० वर्षीय राजेन्द्र प्याकुरेल र राजेश सैजुलाई नियन्त्रणमा लिएको छ। चालक सैजुले मापसे गरेको प्रहरीले जनाएको छ ।
लकडाउनका बीचपनि विभिन्न आयोजनाका लागि टिपर चलाउने अनुमति दिइएको छ । तर, काठमाडौंमा खाली सडक भएका कारण अहिले सवारी साधनको गति अत्यधिक हुने गरेको छ । जसले दुर्घटना बढाएको छ ।